दमक, पुस १८
प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधन भएको खबरले आफू दुःखी भएको बताउनु भएको छ ।
पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले सचिनमाथि असर पुर्याएको बताउँदै फेसबुकमार्फत अभिव्यक्तिमा भन्नुभयो ‘यस घटनाबाट संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने पाठ सबैलाई सिकाएको छ ।’
पारिवारि बेमेलका कारण उचित हेरचाहको समस्या भोग्दै आएका सचिनको बिहीबार बिहान १३ वर्षको उमेरमा निधन भएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका ५ दिन अस्पतालको आईसीयूमा भर्ना भई उपचाररत सचिनको निमोनियाका कारण निधन भएको अस्पतालले जनाएको छ ।
भाइरल बाल गायकका रूपमा परिचित सचिनले थुप्रै गीत गाउनुका साथै अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय समेत गर्नुभएको थियो ।
हास्य शृङ्खला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका सचिनको ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ लगायत गीत चर्चित छन् ।
अलि दुःख पाएको तर प्रतिभा भएको सोझो बालक सचिन सबैको युट्यूबको बिकाउ सामग्री बनाइए । एउटा अबोध बालक सचिन जसलाई सोसल मिडियामा ‘भाइरल’ बनाइयो र सुविस्ताले बाँच्नसमेत दिइएन । न लेखपढ गर्न दिइयो, न स्वच्छन्द बाल्यकाल बिताउन । कहिले गाउँमा पुर्याउने, कहिले सहरमा, कहिले गीत गाउन लगाउने, कहिले नाच्न । कहिले रुवाउन लगाउने, कहिले हँसाउन । बरु कुनैबखत सर्कसमा प्रयोग गरिने प्राणीलाई झैं मान्छेहरुले यी बालकलाई आफ्नो स्वार्थ र सुविधा अनुसार दोहन गर्न थाले । यस्तै धपेडीबीच आर्थिक कमजोर सचिनको शरीर पनि कमजोर भयो र रोगी हुन पुगेको देखिन्छ ।
त्यही रोगी शरीरलाई कहिले दोहोरीमा पुर्याइयो, कहिले झाँक्रीकहाँ । त्यसलाई भिडियो बनाएर सोसल मिडियामा व्यापक बनाइयो । सचिन नाचेको, हाँसेको मात्र होइन, बिरामी भएको, बाटोमा मागेर हिंडेको विषयलाई पनि ‘बिकाउ सामग्री’ बनाइएको घटनाले बौद्धिक वर्गलाई यो बेला अझ चिमोटेको छ ।









