दमक, पुस २०
रोजगारी खोज्न र पाउन अहिले गाह्रो छ । रोजगार नभएकै कारण युवाहरु विदेश जाने लहर चलेको अवस्थामा स्थानीयस्तरमै रोजगार प्रवद्र्धनको सन्देशका लागि झापाको दमकमा प्रयास भएको छ । रोजगार सिर्जना गर्ने क्रममा रोजगार दिने पक्ष र रोजगार बन्ने पक्षको मेला लगाएर रोजगारी प्रवद्र्धनको कामको थालनी भएको छ ।
दमक नगरपालिका र उद्योग वाणिज्य संघको समन्वयमा स्थानीय श्रीयन्त्र कलेज अन्तर्गतको दमक टेक्निकल एजुकेशनल फाउण्डेशनले शनिबार सञ्चालन गरेको ‘रोजगार मेला’मा ५० जना बढीले रोजगारीका लागि रोजगारदातासँग आवेदन गरेका छन् । दमक ९ स्थित श्रीयन्त्र कलेजमा आयोजित औपचारिक कार्यक्रमपछि त्यहाँ उपस्थित १७ वटा रोजगारदाता संस्थाले रोजगारका लागि आवेदन दिनेसँग अन्तरवार्ता लियो । १७ संस्थाका लागि जम्मा ३९ जना जनशक्ति आवश्यक रहेको जानकारी गराएपछि त्यहाँ रोजगारी प्राप्त गर्न युवापुस्ताले आवेदन दिएका थिए । रोजगारदाताका रुपमा नेक्स्ट इरा एनर्जी प्रालि, फस्ट लिंक, हिमशिखर टेलिभिजन, पाथीभरा एफएम, होटल स्वर्गलोक, होटल नेपाली रिक्का, थ्रि इन होटल, कामाक्ष होटल, क्रिस्टल सोलुसन बिर्तामोडसहित थिए ।
जागिर खोज्न चारैतिर भौंतारिनु पर्ने र कहाँ कुन पदमा जागिर खुलेको छ भनेर बुझेर हिँड्न पनि समस्या पर्ने भएको अवस्थामा जनशक्ति आवश्यक भएका संस्थाहरुले एकैठाउँ रोजगारको अवसर सिर्जना गरेको कुराले सहभागि खुसी देखिएका थिए । त्यसमध्येकी ज्योत्स्ना दाहालले भन्नुभयो ‘अरुथोकको मेला लाग्ने सुनेको र देखेको अवस्थामा आफ्नै ठाउँमा रोजगार मेला लागेको कुराले हामीजस्ता युवा पुस्तालाई उत्साहित बनाएको छ । मैले जागिरका लागि अन्तरवार्ता दिएँ, रिजल्ट त आइसक्या छैन । अब कल गर्छु भन्नु भएको छ ।’
मेला उद्घाटन् गर्दै दमक नगर प्रमुख रामकुमार थापाले स्थानीयस्तरमा रोजगारी खोज्न सहजताका लागि लगाएको मेलाले स्थानीयस्तरमै रोजगार बन्ने समेत सन्देश दिने बताउनु भयो ।
कार्यक्रममा, दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, ९ का वडाध्यक्ष कुवेरप्रसाद भट्टराई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईं गोपाल, होलसेल व्यवसायी संघ दमकका सचिव रमेश खतिवडा, थ्रि इन वान होटलका प्रवन्ध निर्देशक भवानीविक्रम आङ्देम्बे, सुनसरीको रामधुनी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजनकुमार गेलालसहितले शुभकामना मन्तव्य राख्दै यसखाले कार्यक्रमलाई आगामी वर्षमा अझ व्यवस्थित र भव्य रुपमा सञ्चालनमा साथ दिने धारणा राख्नुभयो ।
आफूहरुले सोचे अनुरुपको जमघट मेलामा हुन नसकेको जनाउँदै आयोजक फाउण्डेशनका अध्यक्ष महेन्द्रप्रसाद घिमिरेले पहिलो पटकको प्रयास रहेको र अबका दिनमा अझ साथसहयोग भएमा वर्षेनी यसखाले मेला लगाएर आफ्नै ठाउँमा रोजगारीको अवसर सिर्जना गर्न लागिपर्ने दृढता व्यक्त गर्नुभयो । कार्यक्रममा साँस्कृतिक प्रस्तुति समेत भएको थियो ।








