मेचीनगर, माघ १
झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर ४ बाहुनडाँगीमा अघिल्ला वर्ष झैं यो वर्ष पनि माघे संक्रान्ति पर्वका अवसरमा अन्तर्राष्ट्रिय तरुल महोत्सव सञ्चालन भएको छ । जहाँ माघे संक्रान्तिमा खाइने मुख्य परिकार तरुलकै मःम, पकौडा, फुरौला, छोयला, अचारसहितका खाद्य सामग्रीले छुट्टै आकर्षण थपेको छ ।
मेचीनगर नगरपालिकाले आयोजना गरेको तीन दिवसीय तरुल महोत्सव सोमवार सुरु भएको र मंगलबार माघे संक्रान्तिमा अझ त्यसको रमाइलो बढेको छ । बिगत दुई वर्षदेखि बाहुनडाँगीमा माघे संक्रान्तिको अवसर पारेर हुँदै आएको अन्तर्राष्ट्रिय तरुल महोत्सवमा नेपाल र भारतका रैथाने उत्पादनप्रति अवलोकनकर्ताको आकर्षण बढेको छ ।
महोत्सवमा तरुलका विभिन्न प्रजाति बिक्रीका लागि राखिएका छन्भने तरुलबाट बनाइएको स्टिम मःम, पकौडा, छोयला, साँधेको अचार, तारेको फुरौलालगायत परिकार महोत्सवको आकर्षण बनेको छ । सिमल तरुल, घर तरुल, वन तरुल, पताले तरुल, सुठुनी, पिडालु, कच्छुलगायत विभिन्न प्रकारका तरुल बिक्रीमा राखिएको छ । बाहुनडाँगीको हात्तीमैत्री किसान समूहले उत्पादन गरेको बेल्चनाको चाना, कोदोको पिठो, तामाको मेसु, मोरिङ्गाको पिठो, किम्बुको वाइन, रातो केराको बिरुवा, मरिच, सुपारी र तेजपत्ताको बिरुवा महोत्सवमा छुट्टै स्टलमा राखिएको छ । हिमालयन महिला साझेदारी अचार तथा खाद्यान्न उद्योगले मेचीनगर–२ मा उत्पादित १३ प्रकारका अचार स्टलमा राखेको छ ।
ओखलढुंगाको कुसुम राडीपाखी उद्योगले भेडाको ऊनबाट बनेका राडीहरु, मेचीनगरको साँवा भेराइटीजले आदिवासी जनजातिको सांस्कृतिक पहिचानसँग जोडिएका दुर्लभ बिनायो, चिन्डो लगायतका सामान महोत्सवमा राखेको छ ।
त्यसप्रकारका मौलिक परिकार र मौलिक सामग्रीले ग्राहकलाई आकषित गरेका कारण प्रदर्शनी कक्षमा ग्राहकको घुइँचो लाग्ने गरेको स्थानीय ग्रिन जेनेरेसनका महासचिव मञ्जिल देवानले बताउनु भयो ।
महोत्सव तरुललगायत रैथाने खानेकुरा र ग्रामीण उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव सञ्चालन हुँदै आएको मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्कीले जनाउनु भयो । उहाँका अनुसार महोत्सवमा भारतका चारवटासहित ३५ वटा प्रदर्शनी कक्ष रहेको छभने तीन दिनमा ५० लाखबराबरको कारोबार गर्ने अपेक्षा गरिएको छ ।
भारतस्थित पश्चिम बङ्गालका पर्यटन अभियन्ता राज बसुले नेपालमा ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको धारणा व्यक्त गर्दै तरुल महोत्सवले दुवै देशको ग्रामीण भेगमा उत्पादित उत्पादनको बजारीकरणमा सहयोग पुर्याउने धारणा राख्नुहुन्छ ।