दमक, माघ ७
नेपाली मौलिक चलचित्र निर्माण र निर्देशनका अगुवा नवीन सुब्बाले चलचित्र जतिधेरै स्थानीयकरण भयो, त्यति नै त्यो विश्वव्यापीकरण हुने बताउनु भएको छ ।
नुमाफुङ, घाङ्ग्री, गाउँ आएको बाटो जस्ता स्थानीय रैथाने विषयवस्तुको चलचित्र निर्माण गर्नुभएका सुब्बाले झापाको दमकस्थित कदम थिएटरमा भएको ‘चलचित्रमा संघीयता’ विषयक बहसका क्रममा सो कुरा बताउनु भएको हो । काठमाडौं इन्टरनेशनल माउण्टेन फिल्म फेस्टिभल (किम्फ) को घुम्ती कार्यक्रम अन्तर्गत दुईदिने चलचित्र महोत्सव समापनसँगैको अन्तरसंवादको चरणमा उहाँले रैथाने चलचित्र निर्माणमा जोड दिनुपर्ने धारणा अघि सार्नुभयो ।
उहाँले बलिउडको प्रभावबाट बाहिर निस्किएर नेपाली रैथानेपनका चलचित्र बन्न थालेपनि सही तरिकाले साँस्कृतिक मर्म र सामाजिक यथार्थलाई दुरुस्त रुपमा भनें प्रस्तुत हुन नसकेकोप्रति उहाँको टिप्पणी छ । उहाँले भन्नुभयो ‘त्यही समुदायको कलाकार, चलचित्र निर्माता, निर्देशक हुँदा मात्र त्यस्तो पक्ष दुरुस्त आउँछ । त्यसकारण सिनेमाको क्राफ्टमा मौलिकता आइसकेको छैन ।’
उहाँले कोरिया र जापानमा बनेको आफ्नो फरकपन तथा मौलिक चलचित्रले विश्वको ध्यान तानेको तथा त्यहाँ सरकारले पनि मौलिक कथा बाहिर ल्याउन संस्थागत लगानी अघि बढाएको प्रसंग अघिसार्नु भयो । ‘सरकारको संलग्नतामा उनीहरुले विश्वलाई नै आकर्षित गर्नेगरी साँस्कृतिक पक्षलाई जोड दिएर सिनेमाको स्थानीयकरण गजबले गरे । जापानले समाजको विश्वास पद्धतीलाई सिनेमामा लिएर आयो । तर हाम्रो मुलुकमा यो पक्ष अझै टाढै छ ।’– उहाँले समीक्षा गर्नुभयो ।
अझै पनि नेपालमा महिला, विभिन्न सिमान्तकृत समुदायसहितका रैथाने विषयमा दर्विलो चलचित्र बन्न नसकेको उहाँको बुझाई छ । उहाँले सिनेमाको बुझाईको स्तरमा कलाप्रेमीको मात्र नभएर समीक्षकहरुको समेत समस्या रहेको चर्चा गर्दै ‘समकालिन चेतना’लाई समातेर मात्र सिनेमा सही रुपमा रैथाने र दर्विलो कथा प्रस्तुत हुनसक्ने उहाँको ठम्याई छ । उहाँले आफ्नो धारणा राख्ने क्रमको अन्तिममा थप्नुभयो ‘तरै पनि नेपाली चलचित्रको स्थानीयकरण सुरु भएर आर्ट मूभिका हिसावले अन्तर्राष्ट्रियस्तरमा आफ्नो उपस्थिति राम्रै रुपमा अघि बढेको छ । जातीय, साँस्कृतिक र प्राकृतिक विविधतायुक्त नेपालको सिनेमा पछि नमूना बन्नेवाला छ ।’ कदमका कलाकार सुमन लिङ्देनले बहसको सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा किम्फका बोर्ड अफ डाइरेक्टर शेखर खरेलले व्यवसायिक मूलधार बाहिरका साँँस्कृतिक, मौलिक र सन्देशमूलक चलचित्र निर्माणमा जोड दिदै त्यही धारका चलचित्र निर्माणमा प्रवद्र्धनमामा किम्फले गतिविधि गरिरहेको सुनाउनु भयो । ११ वटा चलचित्र र डकुमेन्ट्री प्रस्तुतहुँँदै टुंगिएको कार्यक्रम कदम थिएटरका अध्यक्ष हेमन्त बुढाथोकीको अध्यक्षतामा सम्पन्न भयो ।









