उर्लाबारी, माघ ७
आफ्नो शिक्षण पेसा पनि द्वन्दको दोहोरो मारमा परेको अवस्थामा उहाँ निकै चिन्तित बन्नु भयो । तेह्रथुममा सामुदायिक विद्यालयको शिक्षण पेसा छाडेपछि व्यवसायिक हिसाबले के कसो गरौं भन्ने सोचेर घरमै बसिरहेको बेला मौरी पालनको तालिम खुल्यो । जुन तालिमले उहाँलाई छोड्न बाध्य भएको शिक्षण पेसा विर्साएर राम्रो आयआम्दानीको स्रोत बनेपछि परिवारमै खुसीको लहर छाएको छ ।
उहाँ अर्थात मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ४ भानुमार्गका दीपेन्द्र थापाको अगुवाईको लगावले सो परिवार राम्रो आम्दानी समेत गरेर अगुवा मौरीपालक रुपमा स्थापित बनेको छ । दीपेन्द्रलाई भरपुर साथ दिएर श्रीमती पद्मा काफ्ले थापा र छोरा चिराग लागिपर्नुभएको छ । ०६९ सालमा दीपेन्द्रले मौरी पालन तालिम लिएपछि ०७० बाट व्यवसायिक हिसावले मौरी पाल्ने परिवारको योजना बन्यो र ‘पद्माश्री मौरीपालन कृषि फर्म’मार्फत यात्रा अघि बढ्यो । तालिममा प्राप्त गरेको २ घार अनि त्यसमा थपेर ९ घार बनाएर सुरु भएको व्यवसाय बृद्धि हुँँदै हाल १ सय ५० वटा घार पुगेको छ । पद्मा भन्नुहुन्छ ‘महका साथै मौरी, घार, कुटसहितको बिक्रीबाट वर्षको करिब १० लाख आम्दानी हुन्छ । थोरै जग्गाले पनि हुने र परिवारकै सदस्य मिलेर गर्नसकिने मौरीपालन सजिलो व्यवसाय हो ।’
बाबुआमाले धानखेती समेत गर्दै मौरी पालन व्यवसायलाई अघि बढाएको सानैदेखि देख्दै र बुझ्दै आउनु भएका छोरा चिरागलाई समेत यो पेसा औधी मन परेको छ । उहाँ कृषि विषयमा स्नातक तह पढ्दै हुनुहुन्छ । ‘पछि नेपालमा हालसम्म भएकोभन्दा उन्नत तरिकाले नयाँ प्रविधिसहित थप व्यवस्थित रुपमा मौरीपालन व्यवसाय अघि बढाउने योजना बनाएको छु ।’– चिराग भन्नुहुन्छ ।
मौरीको सुद्ध मह स्वास्थ्यका लागि धेरै नै लाभदायक हुने हुन्छ । अनि मौरी फूलहरुमा बस्दा परागसेचनमा बृद्धि भई तोरी, फापरसहितका बाली समेत बृद्धि हुने गरेको छ । कतिपयमा मौरीले असर गर्ने भन्ने भ्रम रहेको भएपनि कतिपयले मौरी चर्दा बाली समेत बृद्धि हुने तथ्य बुझेर टाढाटाढासम्म मौरी चराउन माग हुने गरेको छ । यसकारण झापा हुँदै तेह्रथुमसम्म थाापा परिवारले मौरी चराउने लाने गरेको छ । वर्षमा पाँचपटकसम्म मौरीको मह काढ्ने गरिएको छ ।









