भारतका ४ विद्युतीय गाडी नेपाल आउँदै, चिनियाँ मोडललाई पार्ला त असर ?

दमक, माघ ९
भारतमा उत्पादन भएका ४ विद्युतीय गाडीका मोडल नेपाल आउने भएका छन्। भारतका ‘बिग ब्रान्ड’ले उत्पादन गरेका ४ विद्युतीय मोडल आउने भएका हुन्।

 

नेपाली बजारमा चिनियाँ मोडलको बजार हिस्सा बढ्दै गएको समयमा ४ ठूला ब्रान्डले ‘मास प्रोडक्ट’को रूपमा ४ गाडी भित्राउँदै छन् । फागुनदेखि असोजसम्म ४ नयाँ विद्युतीय गाडीका मोडल ल्याउने सम्भावना छ । विद्युतीय गाडीको बजार प्रतिशतका हिसाबले भारतमा भन्दा नेपालमा ठूलो छ।

 

भारतीय ब्रान्ड टाटाले मात्रै चिनियाँ विद्युतीय गाडीका मोडलसँग प्रतिस्पर्धा गरिरहेको छ। टाटाको नेक्सन, टियागो र पञ्च पछिल्लो ३ वर्षमा बढी बिक्री भएका छन्। चीनमा उत्पादित बीवाईडी, ओमोडा, नेटा, एमजी, डिप्पलको बजार हिस्सा बढ्दो छ । चिनियाँ ब्रान्डले दबदबा राखेको नेपालको अटो मार्केटमा भारतीय ब्रान्ड बल्ल प्रतिस्पर्धी हुने भएका छन्। टाटा बाहेक हुन्डाई, सुजुकी, महिन्द्राले विद्युतीय गाडीबाटै प्रतिस्पर्धा गर्नेछन् ।

 

भन्सार विभागको पुससम्मको तथ्यांक अनुसार कुल ५ हजार ४८० विद्युतीय गाडी भित्रिएका छन् । भारतबाट १२ सय ५० मात्रै विद्युतीय गाडी भित्रिँदा उत्तरी छिमेकी मुलुकबाट ४ हजार २०५ आयात भएका छन् ।

Share: