३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा आधा दर्जनभन्दा बढी चिकित्सकहरू निर्वाचित हुनुभएको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा आवद्ध सात जना डाक्टरहरू सहमहामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म निर्वाचित भएका देखिएको छ । यद्यपि, केन्द्रीय निर्वाचन समितिले मतगणनाको अन्तिम मतपरिणाम सार्वजनिक नगरेका कारण उक्त संख्या बढ्न पनि सक्छ । प्रारम्भिक नतिजाअनुसा डा. फिरदोस आलम केन्द्रीय कार्यसमितिको सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ । उहा मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित हुनुभएको हो ।
यस्तै नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी पेशागत विषय विज्ञतर्फ केन्द्रीय सदस्यमा विजयी हुनुभएको छ ।पेशागत विषय विज्ञतर्फ नै कैलालीका बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र पनि केन्द्रीय सदस्य बन्नुभएको छ ।त्यस्तै स्त्री रोग विशेषज्ञ प्रा.डा. सीता पोखरेल पनि कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । उहा पनि पेशागत विषय विज्ञतर्फ नै निर्वाचित हुनुभएको हो ।नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. मुक्तिराम श्रेष्ठ भने खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।अर्का पूर्वअध्यक्ष डा. अञ्जनी झा मधेश प्रदेशबाट केन्द्रीय सदस्य बन्नुभएको छ । उहा क्यान्सर रोग विशेषज्ञ हुनुहुन्छ ।निर्वाचन समितिका अनुसार डा. योशिका भट्टराई कोशी प्रदेशबाट केन्द्रीय सदस्य बन्नुभएको छ । उहा
स्तन क्यान्सर शल्य चिकित्सक हुनुहुन्छ ।









