"कृति समीक्षा"

चेली कवि प्रतिमा छेत्रीको मनका तरङ्गहरूभित्र रमाउँदा..

सिलिगुड़ीको साहित्यिक भूमिमा एउटा नयाँ काव्यकृति भूमिष्ठ भयो । यो साँच्चै गर्व र हर्षको कुरो हो मेरो निम्ति ।
कुनै डोल ढ्याङ्ग्रो नबजाई, कुनै हल्ला नगरी कविता, गजल, गीत आदि लेखेर आफूभित्र सन्तुष्ट रही अन्त्यमा एउटा नयाँ काव्यकृति ‘मनका तरङ्गहरू’ सिलिगुड़ीको साहित्यिक फाँटलाई चढ़ाइन् कवि प्रतिमा छेत्रीले । यसको निम्ति भक्कु स्याबासी चेलीकवि प्रतिमालाई ।

 

 

धेर नबोल्ने…उनको स्वभाव नै गम्भीर, शान्त । काव्यकृति ’मनका तरङ्गहरू’ प्रकाशित हुने बित्तिक्कै पहिल्यै मलाई चढ़ाउन भनी मकहाँ आइन् । माइती सम्झी मलाई सर्वप्रथम उनको पहिलो काव्यकृति चढ़ाउन आएकी म खुसी भएँ…भक्कुमारी । किताब हात परेपछि हेरेँ…अहा मैले नै भूनिका लेखेको रहेछु । मलाई सम्मानपूर्वक भूमिका लेखिमागेकी पनि चेली कवि प्रतिमाकन त्यसै पनि अनुगृहित छु ।

 

 

यतिञ्जेल ओझेलमा थिइन् प्रतिमा । हामीले पनि त्यति उनलाई याद नगरेका रहेछौं । प्रचार–प्रसारदेखि कोशौं टाढ़ा बस्ने प्रतिभालाई प्रकाशमा ल्याई उनलाई साहित्य लेखनमा हुटहुटी लाउनु मात्र होइन किताब समेत छाप्नु हुटहुटी लाउने भूमिका नेपालका झर्झराउँदा गीतकार एन बी दाहालले लिएका रहेछन् । साँच्चै दाहालजी जस्ता उदार हृदयी गीतकार नभएका हुँदा हुन् ता प्रतिमालाई भारतीय नारी हस्ताक्षरको रुपमा हामीले चिन्न सक्ने थिएनौँ । यिनै दाहालजीको हुटहुटीले प्रतिमालाई भारतीय नेपाली नारी साहित्यकारको रुपमा हामीले चिन्ने भयौँ । गीतकार दाहालजीजस्ता अरु दुइ चारजना व्यक्ति हुँदा हुन् ता हाम्रा नवोदित साहित्यकारहरू चिचिलामै निँखोज हुने थिएनन् ।

 

 

जे होस् प्रतिमा छेत्रीको पहिलो कृति बल्ल पढ़िसिद्ध्याएँ । यस ’मनका तरङ्गहरू’ हरूमा सय भन्दा धेर नै कविताहरू छन् । यस सङ्ग्रहमा परेका कविताहरू सरसरती पढ़्‌दा के भन्न ठुङमार्दो हुन्छ भने, प्रत्येक मानिसभित्र अनुभूतिका लहरहरू तरङ्गित भइरहेका हुन्छन् । कोमल भावनका धनीहरू यसलाई शब्दमा उतार्नुका साथै ती अनुभुतिलाई जीवन प्रदान गर्छन् भने कसैमा भने ती अनुभूतिहरू आफूभित्रै बिलाएर जान्छन् । खासै भन्नुपर्दा कवि हृदयी मानिसहरू मात्र यस्तो स्नेही काम गर्न सक्छन् । यसरी आफ्नो अनुभूतिलाई नाके डोरी लाउने सबल र अब्बल कवि हुन् प्रतिमा तामाङ । पहिलोपल्ट भारतीय नेपाली नारी कवि हस्ताक्षर रुपमा देखिएकी प्रतिमा तामाङका कवितामा वर्तमानको यथार्थबोध गराउने समसामयिक विषयवस्तुलाई टपक्क टिपेर अनुभूतिपरक संवेदनालाई उजागार गर्दै कवि हृदयका चित्रहरू उतारिएको पाइन्छ । आफूमात्रको होइन हरदर समाजकै पीर वेदनालाई मूल आधार बनाएर विम्बात्मक अनुभूतिहरू कवितामा भक्कु देखिन्छ–
आफ्नो फाइदाको लागि
हामीलाई अल्छी बनायौ
हामी त विश्ववासी थियौं
हामीलाई बुद्धिहीन बनायौ
दुनियाँलाई हत्केलामा नचाउन चाह्यौ

 

…………………………………….
यिनका धेरजसो प्रणय रागका स्वरहरु नै सुनिन्छ । कति कविताहरू गीतकै भाखामा लेखिएको पाइन्छ कतिपय कविताहरू लोकलयमा आधारित पनि देखिन्छ –
त्रिवेणी खोला दोभान तरौंला
मैच्याङ्गलाई फुरुक्कै पारौंला
रङ्गीत खोलो तरौंला
आफू त चिटिक्क परुँला
रङ्गीन खोला तरौंला
फेरि
तीजको दिन सजुँला
फेरि अरु दिन यस्तै हो
यता उता गर्दा नै ठिक्क
व्यस्तको व्यस्त नै हो……

 

जीवनप्रति पनि कविको वितृष्णा देखिन्छ । तर यो वितृष्णा एक्लो कविको मात्र हरदर आमा मान्छेको जीवनप्रतिको वितृष्णा हो । कविता लेखेरे वा कवितामा अनुभूति पोखेर मात्र कविको जिम्मेवारी पूरा हुँदैन । कवि बाँच्नका लागि कविताका साथै तिनका अनुभूति पनि जीवन्त हुनुपर्दछ । जीवनका यावत् पक्ष सङ्घर्ष, दुःख, प्रेम, थकान, हर्ष, चिन्ता, क्रोध, विषाद, विवाद, सहयोग तथा असहयोग आदिलाई निकटबाट परीक्षण–निरीक्षण गरेर कविता मार्फत् अभिव्यक्ति राख्ने कवि प्रतिमाको कवितानुभूति लरतरो देखिन्न –
हर एक कदममा ठक्कर खानु
मात्रै हो यो जिन्दगी
दया र प्यारको भिख माग्नु
भन्ने यो मेरो जिन्दगी
हार खाएँ अब मैले संसारदेखि
पर्दैन अब माया देखाउनु ।

 

सामाजिक विषमता, अन्याय, अत्याचार, वर्गीय शोषण, कहालीलाग्दो अवस्थाले कवि प्रतिमा विचलित बनेकी देखिन्छ ।
न हाँस्न सकिन्छ न कतै एक्लै
हाँसे पागलको उपाधि पाइन्छ
न रुन सकिन्छ भीड़भाड़भित्र

कविता वा गीत सरल भाषामा लेखिएका कविताहरू जीवनका मिठाइला, तिताइला कठोर अनुभूतिहरूको सशक्त माध्यमबाट कवि प्रतिमाले भरसके प्रयास गरेकी देखिन्छ । यिनका कविताहरू पढ़ेर कतिले नाक खुम्याउलान्‌..हुनै सक्छ । तर यो उनको पहिलो प्रयास भएकोले यिनको प्रयास र साहित्यप्रतिको मोहलाई कदर र स्वागत गर्नैपर्छ । यसबारेमा हेनतेन नभनेर यति मात्रै भन्न चाहन्छु, कविता लेखनमा निरन्तरता अवश्यै हुनुपर्छ । कारण भनिएकै छ नि छेउको सियो एक न एक दिन माझमा हुन्छ नै ।
सिलिगुड़ीको साहित्य फाँटमा एउटा नयाँ कृति थपिएको कवि प्रतिमा तामाङकन अशेष शुभकामना ।

कृति – मनका तरङ्गहरू
विधा –कवितासङ्ग्रह
काव्यकार – प्रतिमा छेत्री
प्रकाशक –एन बी दाहाल नवीन
संस्करण – प्रथम
प्रति – ५००
प्रकाशन मिति– २०८१, विजयादशमी
सर्वाधिकर – कविमा सुरक्षित
मूल्य – ३००/–
आवरण / ले–आउट – बुद्ध अफसेट प्रेस, भद्रपुर रोड, बिर्तामोड़
ISBN  – ९७८–९९३७–१–७३५५–१

सिलिगुडी, भारत

Share: