केबलकार विवाद सम्बन्धी वार्ता निष्कर्षविहीन, आज पुनः वार्ता

दमक, माघ २२
पाथीभरा केवलकार निर्माणलाई लिएर उत्पन्न विवाद समाधानका लागि सोमबार बसेको वार्ता निष्कर्षविहीन बनेपनि आज मंगलवार पुनः बस्दैछ ।

 

सरकार र ‘नो केवलकार’ पक्षबीच छलफल घनीभूत रुपमा अझै बाँकी रहेकाले मंगलबारसमेत वार्ताको प्रक्रिया अघि बढाइएको सरकारी वार्ता टोलीका संयोजक एवं नेपाल सरकारका सहसचिव प्रेमप्रसाद भट्टराईले जनाउनु भयो । उहाँले वार्ता सकारात्मक रूपमा अघि बढिरहेको तर, केही विषयमा थप छलफल आवश्यक भएकाले मंगलबार बिहान ११ बजे पुनः वार्ताको काम अघि बढ्दै गरेको बताउनु भयो ।

 

 

आन्दोलनरत पक्षले जारी केवलकार निर्माण कार्य रोक्न र काफ्लेपाटीबाट सुरक्षाकर्मी फिर्ता गर्न प्रस्ताव गरेको तर सरकारी पक्षले जारी निर्माण कार्य रोक्न नसकिने स्पष्ट पारेको उल्लेख छ । बाँकी विषयमा भने थप छलफल हुँदैछ ।

 

 

प्रहरी नियन्त्रणमा रहेका ‘नो केवलकार’ पक्षधर कार्यकर्ताहरूको रिहाइका विषयमा सरकार सकारात्मक रहेको भट्टराईले बताउनु भयो ।
‘नो केवलकार’ पक्षले सोमबार अपराह्न प्राज्ञ अमर तुम्याहाङको नेतृत्वमा वार्ता सहजीकरण समिति गठन गरेको हो । नेपाल सरकारले भने माघ १८ गते सहसचिव भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।

 

 

आन्दोलनरत पक्षका नवीन पोमूले केवलकार निर्माण कार्य रोकिने विषयमा सकारात्मक छलफल नभए आन्दोलनका कार्यक्रम जारी रहने चेतावनी दिएको उल्लेख छ ।

 

Share: