छैटौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा बुद्ध मावि च्याम्पियन

पथरी, माघ २७
पथरी शनिश्चरे नगरपालिका अन्तर माध्यमिक विद्यालयस्तरीय छैटौं राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता २०८१ भएको छ । जसमा ८ नम्बर को बुद्ध मावि पुनः च्याम्पियन बनेको छ ।

 

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ वडा नम्बर १ को सुनाखरी माध्यमिक विद्यालयमा तीन दिवसीय प्रतियोगिता आयोजना भएको थियो ।

पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापोले एक कार्यक्रमका बीच नगरभित्रका विभिन्न विद्यालयहरुबाट विभिन्न विधाहरूमा विजयी छात्र छात्राहरूलाई पुरस्कृत गर्नुभयो ।

गत वर्ष नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड उचालेको बुद्ध माविले यस पटक पनि ८ स्वर्ण तथा ७ रजत सहित प्रथम स्थान हासिल गरेको हो । यसैगरी, सिंहबाहिनी माविले ५ स्वर्ण र ५ रजत सहित पुनः दोस्रो स्थान हासिल गर्न सफल भयो भने पञ्चायत माध्यमिक विद्यालयले ५ स्वर्ण र ३ रजतसहित तेस्रो स्थान हासिल गरेको छ ।

 

पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको समापन समारोहका अवसरमा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत नवीन खुलाल बुढाथोकी, विद्यालय व्यवस्थापन समिति पथरी शनिश्चरेका अध्यक्ष युवराज बास्कोटा, पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, ८ नम्बरका अध्यक्ष नवीनजंग कार्की, सुनाखरी माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष प्रदीपकुमार राई, प्रधानाध्यापक भूमिकादेवी मगरसहितको आतिथ्यता रहेको थियो ।

 

 

यस प्रतियोगिताको छात्र तर्फको भलिबलको उपाधि (स्वर्ण) पञ्चायत माविले उचालेको छ भने रेडस्टार माविले दोस्रो (रजत) स्थान हासिल गरेको थियो । यसैगरी, एभरेष्ट अङ्ग्रेजी बोडिङ्ग स्कुलले छात्रा तर्फको भलिबल प्रतियोगिताको स्वर्ण अवार्ड जितेको छ भने भागिरथ माविले रजतमा चित्त बुझाएको छ ।
भलिबल, फुटबल, दौड, एथलेटिक्स, ज्याब्लिन थ्रो, आदि खेल इभेन्ट्सहरू खेलाइएको थियो । प्रतियोगिता माघ २३ गतेदेखि सञ्चालन भएको थियो ।

 

Share: