काठमाडौँ, फागुन ५
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल–२०२५’ आजबाट दशरथ रंगशालामा सुरु हुँदैछ ।
फिफा इन्टरनेशल विन्डोअन्तर्गत फागुन १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित किर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहेको छ । पहिलो चरण राउन्ड रोविन लिगका आधारमा खेल हुने र त्यसपछि अंक तालिकाको शीर्ष स्थानमा रहने दुईवटा टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् ।
एसियाली फुटबल महासंघ (एएफसी) महिला एसिया कप र विश्व फुटबल महासंघ (फिफा) महिला विश्वकपको तयारीका क्रममा यो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगिताको उद्घाटन खेल सोमबार २ बजे म्यानमार र लेबनानबिच हुँनेछ । सोमबारको दोस्रो खेलमा आयोजक नेपालले किर्गिस्तानको सामना गर्नेछ । नेपाल र किर्गिस्तानबिचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
प्रतियोगितामा सहभागी टोलीमध्ये म्यानमार सबैभन्दा बलियो मानिएको छ । फिफाद्वारा सार्वजनिक गरिएको पछिल्लो महिला वरीयतामा म्यानमार ५५औँ स्थानमा छ । वरीयतामा नेपाल १०३ औँ, किर्गिस्तान १२८औँ र लेबनान १३४औँ वरीयतामा छन् ।
फागुन ८ गते किर्गिस्तानले म्यानमारसँग र नेपालले लेबनानसँग आफ्नो दोस्रो खेल खेल्नेछन् । लिग चरणको अन्तिम खेल फागुन ११ गते किर्गिस्तान र लेबनान तथा आयोजक नेपाल र म्यानमारबिच खेलिने एन्फाले जनाएको छ ।
एन्फाले प्रतियोगिताका लागि अन्तिम टोलीको घोषणा पनि गरिसकेको छ । टोलीमा गोलरक्षकको भूमिकामा अञ्जली तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ छन् । रक्षापंक्तिमा अमृता जैसी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई रहनु भएको छ । यसैगरी, मध्यपंक्तिमा अनिता बस्नेत, रेणुका नगरकोटे, प्रिती राई, सरु लिम्बु, सविता राना मगर, रेणुका हमाल र सुष्मा तामाङ रहनु भएको छ । अग्रपंक्तिमा भने सावित्रा भण्डारी, रश्मि कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल रहने तयारी छ । नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ रहनु भएको छ ।









