दमक, फागुन १०
विद्यालयमा विद्यार्थीले औपचारिक शिक्षा लिएपनि त्यो व्यवसायिक र जीवन उपयोगी हुन नसकेको सवाल खड्किएको अवस्था छ । यसबीचमा शिक्षालाई सीप र जीवनसँग जोड्ने प्रयत्नमा केही विद्यालय लागिपरेका छन् । त्यसमध्येको एक हो झापाको कमल गाउँपालिका ५ पाडाजुँगीस्थित स्मारिका सामुदायिक बोर्डिङ स्कुल । जसले वर्षभरिमा विद्यार्थीले सिकेका व्यवहारिक ज्ञानलाई आफ्नो १५ औं वार्षिकोत्सवका अवसरमा प्रस्तुत गरेर सबैको मन जित्न सफल भएको छ ।
विद्यालयले त्यहाँ अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका विज्ञान र प्रविधिसहितका सामग्रीको मेला नै लगाएर ‘स्मारिका उत्सव’ नाम दिँदै शनिबारबाट २ दिने वार्षिकोत्सवको कार्यक्रम थालेको छ । जसको उद्घाटनका क्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले स्मारिकाको सीपसँग जोडेर गरेका शैशिक क्रियाकलापको प्रशंसा गर्नुभयो ।
मन्तव्यका क्रममा उहाँले शिक्षामा तीनै तहका सरकारले लगानी गर्र्दै निजी क्षेत्रसँग समेत सहकार्य गर्नुपर्ने धारणा राख्नु भयो । साना विद्यालय एकीकरण गरेर बृहत विद्यालय बनाउनु आवश्यक रहेको प्रसंग पनि अघि सार्नुभयो । सीपयुक्त र राष्ट्रभाव जागृत गराउने शिक्षा आवश्यक रहेकोमा जोड दिँदै भन्नुभयो ‘अब त रोबोट, ड्रोन बनाउने र राष्ट्र स्वनिर्भर रहनेखाले शिक्षा आवश्यक छ । तसर्थ युगले मागेको अनि स्थानीय प्रवद्र्धन गर्नखाले पाठ्यक्रम बनाऔं, अन्वेषणमा जोड दिऔं ।’
कार्यक्रममा विशिष्ट अतिथि कोशी प्रदेश सांसद होमबहादुर थापाले सामुदायिक विद्यालयले मात्रै विद्यार्थीको चाप थेग्न नसक्ने अवस्थामा संस्थागत विद्यालयहरुको भूमिका ज्यादै महत्वपूर्ण रहेको उल्लेख गर्दै स्मारिकाले समेत महत्वपूर्ण काम गरेको जनाउनु भयो । उहाँले सीपमूलक शिक्षा अवको आवश्यकता भएको पनि धारणा राख्नुभयो ।
सो अवसरमा कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले गुणस्तरीय शिक्षाकालागि पालिकाले गतिविधि गर्दै आएको र गुणस्तरीय शिक्षामा अग्रसर भएकाहरुसँग अझ सहकार्य गरिने जनाउनु भयो ।
कार्यक्रममा एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष जयबहादुर श्रेष्ठले आफ्नै लगानीमा समुदायमा गुणस्तरीय शिक्षा दिँदै आएका शैक्षिक संस्थालाई १० वर्षभित्र गुठीका रुपमा सरकारीकरण गर्ने सरकारको नीतिप्रति विमति जनाउनु भयो । उहाँले मन्तव्यका क्रममा कमलमा स्मारिका कमल जस्तै फूलेको भन्दै प्रशंसा गर्नुभयो ।
स्वागत मन्तव्यका क्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल गुणराज गिरीले शिक्षालाई जीवन र व्यवहारसँग जोड्ने काम स्वरुप विद्यार्थीहरुको सिकाईलाई वार्षिकोत्सवमा प्रदर्शन गरिएको जानकारी गराउनु भयो । उहाँले वर्षभरि सिकेका ज्ञान र सीपको प्रदर्शनी गरिएको प्रष्ट्याउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर लिम्बूको अध्यक्षताको कार्यक्रममा विद्यार्थीहरुले प्रदर्शनीमा राखेका प्रविधियुक्त सामग्रीहरुको अवलोकन गर्दै मन्त्री राईसहितका सहभागि त्यसबाट प्रभावित बन्नुभयो । कार्यक्रममा विद्यार्थीहरुले गीत र नृत्यसहितका साँस्कृतिक प्रस्तुति राखेका थिए ।
वि.सं. २०६६ सालमा स्थापना भएको सो विद्यालयले शैक्षिक क्षेत्रमा गुणस्तरीय फड्को मारेको छ । ब्रिटिस काउन्सिलको सहयोगमा सञ्चालित ‘स्टिम एप्रोज इन एजुकेशन स्कुल अवार्ड’को सन् २०२० र २०२३ को विजेता बनेको छ । अंग्रेजी डिस्टनरी विशेष स्काबल, विज्ञानको क्रियाकलाप गर्ने ‘कोल्याबेरेसन विद इंगेज नेपाल’, वायरिङ, केश कटिङ, कफि तालिम दिने एक्सक्यूसी जर्नी विद कोयस्ट नेपालसँग सहकार्यको कार्यक्रम सञ्चालित छ । जसले औपचारिक पठपाठनसहित प्रविधिसँग जोडिएर व्यवहारिक सीप प्रदान गर्ने बाटो अघि बढाएको छ । छात्रछात्रा स्काउट समेत विद्यालयमा स्थापना गरिएको छ । कक्षा १० सम्म सञ्चालित सो विद्यालयमा हाल ९ सय विद्यार्थी रहेका छन् ।









