दमक, फागुन २१
सवारी चालक अनुमति पत्र छाप्ने अधिकार अब प्रदेश सरकारलाई दिने संघीय सरकारले निर्णय गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायातसम्बद्ध मन्त्री र सचिवसहितको विषयगत समितिको पछिल्लो बैठकले यस्तो निर्णय गरेको हो ।
आगामी वैशाख १ देखि साउन १ सम्म सबै प्रदेशले सवारी चालक अनुमति पत्रको छपाइ गर्ने निर्णय भएको हो । सवारी चालक अनुमति छपाई प्रदेशबाटै गर्नुका साथै ईम्बोष्ड नम्बर जडानलाई तीव्रता दिनेसमेत निर्णय भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यो निर्णयले यातायात क्षेत्रमा संघीयता कार्यान्वयनले गति लिने उल्लेख गर्दै दर्विलो कार्यान्वयनकालागि प्रदेश मन्त्रीहरुलाई आग्रह गर्नुभयो ।
सबै प्रदेशबाट जारी हुने सवारी चालक अनुमति पत्रमा एकरुपताका लागि यातायात व्यवस्था विभागले चालक अनुमति पत्रको ढाँचा समेत तयार गरेको छ । अहिलेसम्म छाप्न बाँकी सवारी चालक अनुमति पत्र भने यातायात व्यवस्था विभागले नै छाप्नेछ ।
यसैगरी, यातायात क्षेत्रमा हुने भुक्तानी प्रणालीलाई विद्युतीय बनाउने र आगामी चैत मसान्तभित्र सबै प्रदेशबाट विद्युतीय भुक्तानी प्रणाली सुरु गर्ने पनि निर्णय भएको छ ।









