दमक, फागुन २९
शिक्षालयमा पढाउनु भन्दा पनि सिकाउनु महत्वपूर्ण मानिन्छ । विषयवस्तुका पाठका कुरा सिकाउने अर्थात शैक्षिक सामग्रीको प्रयोग गरेर अन्य व्यवहारिक र सीपमूलक क्रियाकलापमा विद्यार्थीलाई संलग्न गराउनु शिक्षाको मूल मर्म हो ।
यही सन्दर्भमा सिकाईका माध्यमबाट गुणस्तरीय शिक्षाकालागि लागिपर्दै आएको झापाको दमक ५ स्थित सर्वोदय इङ्गलिस बोर्डिङ सेकेण्डरी स्कुलले बिहीबार आफ्नो वार्षिक कार्यक्रम सिकाईका झलकसहित सम्पन्न गरेको छ ।
‘सिक्ने स्कुल’ को नारा उल्लेख गरिएको सो विद्यालयले वार्षिक कार्यक्रममा विभिन्न खाले प्रदर्शनी तथा प्रतिभा उजागरका कार्यक्रम राख्यो । विज्ञान, कला, स्काउट सामग्रीको प्रदर्शनी, अभ्यासको पाटोमा फुड फेस्टिभल तथा सृजनशील गतिविधिमा गायन, नृत्य र कविता प्रतियोगिता सम्पन्न भएको विद्यालयका प्रिन्सिपल नवीन योगीले जनाउनु भयो ।
पुस्तकको पढाईसँगसँगै फाइन आर्ट, संगीत, गायन, नृत्य, अभिनय, तेक्वान्दोसहित साहित्य र संस्कारका कुरामा जोड दिइएकाले सिक्ने स्कुलको सार्थकताका गतिविधि भएको दाबी गर्नुभयो ।
कार्यक्रम दमक नगर शिक्षा समितिका संयोजक कुवेरप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।









