दमक, चैत ४– दमक नगर क्षेत्रमा मात्र नभएर आसपासका पालिकामा समेत नीतिगत शैक्षिक योजना तथा गुणस्तरीय सिकाईका क्षेत्रमा काम गर्न भ्याउनु भयो ।
यसअघि दमक र शिवसताक्षी नगर क्षेत्रका सामुदायिक विद्यालयको स्रोत व्यक्ति भएर १२ वर्ष काम गर्नुभयो । अनि दमक नगरको शिक्षा सुधार तथा व्यवस्थापनको सुझाव समितिको संयोजक भएर पनि काम गर्नुभयो । ३६ वर्षे आफ्नो शिक्षा सेवाको अवधिमा ०७६ देखि ५ वर्ष दमक ३ स्थित ढुकुरपानी माद्यमिक विद्यालयको प्रधानाध्यापक बनेर विद्यालयको समग्र शैक्षिक गतिविधिको उन्नयनकालागि समय खर्चिनु मात्र नभएर नमूना काम गरेर देखाउनु भयो । त्यस्ता व्यक्तित्व कृष्णप्रसाद भण्डारीलाई आइतबार एक कार्यक्रमकाबीच ढुकुरपानी माविले विदाई गरेको छ ।
दमक ४ निवासी उहाँ ०४५ बाट शिक्षण पेशामा आवद्ध भई ०५० बाट धादिङको धुलीवेंशी नगरस्थित मच्छिन्द्र माविमा समेत प्रधानाध्यापक समेत बन्नुभयो । त्यसपछि श्रोतव्यक्ति बन्नुभयो । श्रोतव्यक्तिबाट सरकारले अध्यापनतर्फ तानेपछि ०५५ वैशाख ४ बाट ढुकुरपानी माविमा प्रवेश गर्नुभएको थियो ।
विदाईका क्रममा निवर्तमान प्रधानाध्यापक भण्डारीले विधार्थीहरुलाई लागुऔषध जस्ता कुलतमा नफसी असल सिकाईबाट होनहार बन्न शुभकामना दिनु भयो । साथै शिक्षकहरुले पनि शिक्षण सिकाई क्रियाकलापमा नयाँ कुरा सिकेर अघि बढ्न पनि शुभकामना दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि दमक नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रवीण खड्काले दमक नगरको शिक्षा क्षेत्रको व्यवस्थानमा निवर्तमान प्रधानाध्यापक भण्डारीको ठूलो योगदान रहेको चर्चा गर्नुभयो ।
उहाँको अवकासपछि प्रधानाध्यपकमा रघुनाथ भण्डारी नियुक्त हुनु भएको छ ।
अवकासप्राप्त प्रधानाध्यापक भण्डारीसहित एसईईको तयारीमा रहेका विद्यालयका ९२ जना विद्यार्थीलाई राम्रो अंक ल्याएर परीक्षा उत्तीर्ण गर्न शुभकामना दिँदै विदाई गरिएको छ ।
कार्यक्रमका सभाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमालय दाहालले वर्तमान प्रधानाध्यापकको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुकासाथै आफ्नो अगुवाईमा विद्यालयलाई थप व्यस्थित गर्दै लानेकुरामा लागिरहेको जनाउनु भयो ।
शुभकामना मन्तव्यका क्रममा विद्यार्थीकातर्फबाट रिजन घिमिरेले निवर्तमान प्रअ भण्डारीले विद्यालयमा गर्नुभएको सुधारका विषयमा चर्चा गर्नुभयो ।
पूर्व प्रधानाध्यापक लीला खनालले नवनियुक्त प्रधानाध्यापक रघुनाथ भण्डारीले समेत नमुना काम सम्पन्न गर्न सफलता मिलोस् भन्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
सो अवसरमा, विद्यार्थीहरुले गीत नृत्यसहितका सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।









