दमक, चैत ४
नेपालको हिमाली भेगमा पाइने भोटे कुकुरले बल्ल अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ ।
इन्टरनेशनल केनेल क्लब (आइकेसी) ले भोटे कुकुरलाई आधिकारिक रूपमा कुकुर जातिको मान्यता प्रदान गरेको भोटे कुकुर क्लब अफ नेपालका अध्यक्ष विजय पौडेलले जनाउनु भयो ।
पहिला तिबेतन म्यास्टिफलाई नै भोटे कुकुर भन्ने चलन रहेको अवस्थामा भोटे कुकुर र तिबेतन म्यास्टिफ फरक हो भनेर प्रमाणित गरी अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न लामै संघर्ष गर्नुपरेको पौडेलले बताउनुभयो । पौडेलका अनुसार १८ भन्दा बढी भोटे कुकुरको डीएनए परीक्षण गरिएको थियो भने सयौँ कुकुरमा चिप लगाएर निगरानीमा राखिएको थियो ।
भोटे कुकुर खर्कहरूमा बाख्राको रेखदेख गर्नका लागि पाल्ने गरिन्छ । तल्ला क्षेत्रहरूमा पनि भोटे कुकुर सोखले पाल्ने गरेका छन् । भोटे कुकुरलाई प्रवद्र्धन गर्नका लागि २०७९ सालमा पहिलो संस्था नेपालमा खुलेको हो । सोही संस्थाले गत माघमा पोखरामा भोटे कुकुर प्रदर्शनी गर्यो । क्लबले १ सय भन्दा बढी भोटे कुकुर दर्ता गरिसकेको छ ।
नेपालका उच्च हिमाली क्षेत्रमा पाइने भएपनि ढोरपाटन क्षेत्रमा बढी सङ्ख्यामा रहेका क्लबले जनाएको छ । त्यसैले दोस्रो भोटे कुकुर प्रदर्शनी पनि ढोरपाटनमै गर्न लागिएको छ । नेपालमा ५ सय हाराहारी भोटे कुकुर रहेको अनुमान छ ।
भोटे कुकुरको एउटै बाउ र आमाबाट जन्मेको छाउराछाउरी समेत फरक हुन्छ । त्यसैले भोटे युनिक कुकुर भएको मानिन्छ । छाउराको मूल्य नै ४० हजारसम्म पर्छ भने छाउरीको मूल्य ३० हजार पर्छ ।









