दमक, चैत ५
ट्रकमा राखेर युरो र अमेरिकन डलर चीनतर्फ तस्करी गर्दै गरेको अवस्थामा पक्राउ परेका एक नेपालीलाई प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लगिँदै गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई गए राति पक्राउ गरेको थियो । झोरबाट ना. ७ ख १६५२ नम्बरको ट्रक फल्स बटम बनाइ रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेको विदेशी मुद्रा २५ करोड १ लाख ६० हजार ३३८ नेपाली रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ ।
लामा सुन तस्करी प्रकरणमा ५ वर्ष जेल बसेर छुटेको अवस्थामा फेरि पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका लामा भरियाको रूपमा प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो रकम अवैध सुन किन्नकालागि चीनतर्फ तस्करी भइरहेको आशंकासहित प्रहरीले थप विषय अनुसन्धानपछि खुल्दै जाने बताएको छ ।









