दमक, चैत ५
सम्बन्धित वन कार्यालयबाट कटान तथा निकासीको अनुमति नलिइ काठ कटान गरेको अवस्थामा झापाको अर्जुनधारा नगरपालिका २ स्थित शान्ति सामुदायिक वनको काठसहित ट्रयाक्टर नियन्त्रणमा परेको छ ।
सामुदायिक वनको जङ्गल क्षेत्र ब्लक नम्बर ३ र ४ अन्तर्गत रहेको ठूलो गुन्द्रुके खोल्सीमा सालको ११ थान मुढा लोड गरेको अवस्थामा सामुदायिक वनकै मे. १ त ६११ नम्बरको ट्रयाक्टरलाई राष्ट्रिय युवासघ नेपाल अर्जुनधाराको टोलीले नियन्त्रणमा लिएर प्रहरी र कन्काई सबडिभिजन वन कार्यालय सुरुङ्गाको जिम्मा लगाएको हो ।
कटान आदेश समेत नलिएको अवस्थामा रूख ढाली ढुवानी गरिरहेको भन्ने सूचनाको आधारमा सो ट्रयाक्टरलाई नियन्त्रणमा लिएर सम्बन्धित निकायको जिम्मा लगाइएको युवा संघ नेपाल अर्जुनधाराका अध्यक्ष धिरज मोक्तानले जानकारी दिनुभयो । युवा संघका अध्यक्ष मोक्तान, उपाध्यक्ष सुशील भुजेल, सहसचिव युकेश फुयाल लगायत स्थानीय उपभोक्ताहरूले सामुदायिक वनको ट्रयाक्टरलाई नियन्त्रणमा लिएका थिए ।
युवाहरूसँगै स्थानीय उपभोक्ताहरुले समेत ढलेको रुख काट्ने बहानामा नलडेको रुखलाई समेत काटेर सामुदायिक वनले अवैधानिक ढंगले काठ ढुवानी गरेको बताएका छन् ।
यता घटनास्थलमा पुगेका सबडिभिजन वन कार्यालय कन्काई सुरुङ्गाका कर्मचारी गोपाल नेपालले ढलेपढेका रुख कटान गर्ने सम्बन्धमा मौखिक रुपमा मात्र जानकारी पाएको तर आफूहरुले लिखित रुपमा अनुमति नदिएको स्वीकार गर्नुभएको छ । तर घटनास्थलमा अर्को रुख समेत लडाएर मुढा निकासा गरिएको बारेमा भने आफू अनविज्ञ रहेको जवाफ दिनु भयो । नेपालले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको र रुख लडाएर काटिएको भएमा कानुनी प्रक्रिया अघि बढ्ने बताउनु भयो ।
यता सामुदायिक वनका अध्यक्ष खगेन्द्र कोइरालाले आफूहरुले अनुमतिको प्रक्रिया अपनाए पनि सामान्य त्रुटि भएको स्वीकार गर्नुभयो । सामुदायिक वनका सचिव नरेन्द्र गौतमले रुख कटान तथा निकासीको आदेशलाई कानुनी रुपमा पुरा नगरी लकडी ढुवानी गर्नु गल्ती भएको उल्लेख गर्नुभयो ।
अर्जुनधारा २ का जनप्रतिनिधि प्रेम उपरकोटीले सामुदायिक वनले असंवैधानिक ढङ्गले मुढा निकासा गर्न खोजिएको देखिएको बताउनु भयो । सो संम्बन्धमा सबडिभिजन वन कार्यालय र प्रहरीले अनुसन्धान अघि बढाएको छ ।









