दमक, चैत २०/ नयाँ पर्यटकीय गन्तव्य भ्रमणका क्रममा नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न २७ बढी देशका राजदूत इलामको श्रीअन्तु र कन्याम आउने भएका छन् ।
मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा राजदूतहरुलाई अनौपचारिक भ्रमणमा सूर्यादय नगरपालिकामा पर्ने नेपालकै प्रमुख रमणीय क्षेत्र कन्याम र श्रीअन्तुमा सहभागि गराइने भएको हो ।
मन्त्रालयले वार्षिक रूपमा नेपालका लागि खटिएका विभिन्न देशका राजदूतलाई नयाँ वर्षको अवसरमा नयाँ पर्यटकीय गन्तव्यमा भ्रमण गराउने कार्यक्रम अनुसार यसपटक सूर्योदय नगरपालिकाको अन्तुमा कार्यक्रम तय भएको सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले बताउनु भयो । चैत ३१ गते सो टोली कन्याम आइपुग्ने जनाउनु भयो ।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा, मन्त्रालयका सचिवसहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी, राजदूतसहित ४५ जना उच्च तहका पदाधिकारीको सहभागिता रहनेछ । कन्याममा नगरले स्वागत गरी चिया टेष्टिङ सेन्टरमा विभिन्न चियाको स्वाद र दूधका परिकार चिजको समेत स्वाद चखाइनेछ । कन्याममा सो टोलीलाई विभिन्न जातजातिको पोशाकमा सजाएर घोडचढी गराउने, चिया बगान क्षेत्र घुमाउने कार्यक्रम छ ।
३१ गते अन्तुमा रात्रिकालीन स्वागत गरी वैशाख १ गते नयाँ वर्षको अवसरमा सबै राजदूतलाई सूर्योदयको दृश्यावलोकन गराइने छ । टोली वैशाख १ गते अन्तुमै बसेर २ गते फर्कने कार्यक्रम छ । इलामलाई आगामी दिनमा विश्वले चिन्ने अपेक्षासहित कार्यक्रमको तयारी भइरहेको छ ।
नगरले राजदूतसहितको टोली आउने भएपछि अहिले नगर उपप्रमुख दुर्गाकुमार बरालको संयोजकत्वमा मूल समारोह समिति गठन गरी विभिन्न उपसमिति बनाएर स्वागत सत्कारका लागि तयारी थालेको छ । नगरले विभिन्न जातजातिको झाँकीसहित पाहुनालाई स्वागत गर्ने, स्थानीय खानाका परिकारको व्यवस्था गर्ने, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने र स्थानीय पर्यटकीय क्षेत्रको सरसफाई गर्ने काम गरिरहेको छ ।
स्वदेशी तथा विदेशी पर्यटकको बाह्रै महिना भीड लाग्ने अन्तु र कन्याममा राजदूतको भ्रमणले थप प्रचार हुने अपेक्षा गरिएको छ ।









