दमक, चैत २१– कांग्रेस र एमालेको सरकारको नयाँ रणनीतिप्रति झस्किएका मधेस केन्द्रित सात दलले आज संघीय लोकतान्त्रिक मोर्चाको घोषणा गर्ने भएका छन् ।
मोर्चाको नाम संघीय लोकतान्त्रिक मधेसी मोर्चा रहने छ । यसअघि आठ दलको मधेसी मोर्चाको तयारी भइरहेको थियो तर यो मोर्चामा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी नरहने भएपछि हाललाई सात दलको मात्र सहभागिता हुने भएको हो ।
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा सीके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, रेशम लाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी रहने टुंगो लागेको छ । तर पनि नागरिक उन्मुक्तिको स्थिति धरमर रहेको बुझिएको छ । मोर्चाको आलोपालो नेतृत्व गर्ने सहमति अनुसार अहिले पहिलो चरणमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गर्ने बताइएको छ ।
कांग्रेस र एमाले नेतृत्वको गठबन्धन सरकारले संविधान संशोधन गरेर थ्रेस होल्ड बढाउने, समानुपातिक निर्वाचन प्रणाली हटाउने र दुई दलीय प्रणालीको सरकार बनाउने चर्चा बाहिर ल्याएपछि मधेसवादी दलहरू एकीकृत हुने क्रम अघि बढाएको बुझिएको छ ।









