दमक, चैत २१- दमकमा आजबाट आदिवासी जनजाति महोत्सव सुरू भएकाे छ ।
दमक -७ स्थित रतुवा नदीको किनारमा आयाेजित महाेत्सवमा प्रदेश र स्थानीय स्तरमा आदिवासी जनजातिको अधिकार र संस्कृति संरक्षण तथा सम्वर्द्धनबारे चर्चा भएको छ ।
महोत्सव उद्घाटनपछि बोल्दै कोशी प्रदेशको प्राकृतिक श्रोत तथा पूर्वाधार विकास समिति सभापति होमबहादुर थापाले कोशी प्रदेशको पहिचान नै आदिवासी जनजातिको संस्कार र संस्कृति रहेकोले यसको सम्वर्द्धन र प्रवर्द्धनमा आवश्यकीय सबै सहयोग गर्न आफूहरु तयार रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय भाषा आयोगले कोशी प्रदेशमा राजवंशी र लिम्बू भाषालाई माध्यम भाषाका रुपमा सिफारिस गरेको र यसको कार्यान्वयनमा सबै पक्ष लाग्नुपर्ने समेत उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा बोल्दै दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले महोत्सवमा प्रस्तुत भएका सांस्कृतिक झलक तथा पोशाक, रितिरिवाज भोलि आउने पिँढीले देख्ने र त्यसैको अनुशरण गर्ने भएकाले महोत्सव महत्वपूर्ण रहेको बताउनुभयो ।
संस्कृतिकाे धनी शहर दमकमा एकैसाथ सबै जातजातिका संस्कार र संस्कृति प्रस्तुत गर्ने गरी यो खाले बृहत् महाेत्सव हुनु नगरकै लागि गौरवको कुरा रहेको थापाले उल्लेख गर्नुभयो ।
महोत्सवमा बिभिन्न जातीय परिकार, घरहरु तथा अन्य हस्तकलाका सामग्रीहरुको समेत प्रदर्शनी गरिएको छ । हरेक साँझ राष्ट्रिय तथा स्थानीय कलाकाहरुको साङ्गीतिक प्रस्तुतिसमेत हुने छ ।









