बिर्तामोड , चैत्र २१/ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य रोमनाथ ओलीले पत्रकारहरुले बोल्ने कार्य कम गरी लेखेर विचार, दृष्टिकोण एवम् सन्देशहरु प्रवाह गर्नुपर्ने सुझाव दिनु भएको छ ।
प्रेस चौतारी नेपाल झापा जिल्ला कमिटीको बिहीवार बिर्तामोडमा सम्पन्न विस्तारित बैठकलाई सम्बोधन गर्दै पार्टीका जिल्ला इन्चार्जसमेत रहेका ओलीले यस्तो सुझाव दिनुभएको हो ।
‘पत्रकारले राजनीति गर्न हुँदैन भन्ने कुरा म यदाकदा सुन्ने गर्छु’ प्रशिक्षणात्मक मन्तब्यमा नेता ओलीले भन्नुभयो ‘समाचारमा राजनीतिक पक्षपोषण नगरी सन्तुलनमा राखेर प्रस्तुत गर्नुपर्छ तर विचार निर्माणका लागि राजनीतिक ज्ञान भएन भने यस्तो पत्रकारले उत्कृष्ट सामग्री पस्कनै सक्तैनन् ।’
आज कतिपय आमसञ्चार माध्यमहरु र सामाजिक सञ्जालमा बहुदलीय व्यवस्थाप्रति वितृष्णा उत्पन्न हुने खालका समाचार सामग्रीहरु प्रकाशन प्रसारण हुने गरेको बताउदै इन्चार्ज ओलीले भन्नू भयो ” यसलाई हेरेर, पढेर, सुनेर कतिपय मानिसहरु अहिलेको व्यवस्था नै खराब हो भन्न पनि थालेका छन् ‘यस विषयलाई एउटै डालोमा राखेर हेर्न मिल्दैन, ‘समष्टी’ र ‘बेष्ठी’मा विभक्त गरी बुझाउन आवश्यक छ ।”
पार्टीको प्रदेश कमिटीले आगामी चैत ३० गते दमकमा आयोजना गरेको जागरण सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीले सम्बोधन गर्ने जानकारी गराउँदै जिल्ला इन्चार्ज ओलीले आजको धुमिल राजनीतिका विषयमा केन्द्रीय नेतृत्वले प्रष्ट पार्ने पनि बताउनु भयो ।
सो बैठकमा पार्टी प्रदेश कमिटीका सदस्य तथा प्रेस चौतारीका इन्चार्ज गणेश पोखरेलले पछिल्लो समय कपीपेष्ट पत्रकारिता मौलाएको बताउँदै ‘बाइलाइन’ समाचार उत्पादनमा ध्यान दिन सुझाब दिनुभयो । उहाले बहुदलीय व्यवस्था र अहिलेको गणतन्त्रात्मक राज्य व्यवस्थाभन्दा त पञ्चायत नै राम्रो थियो भन्नेहरुको मुख बुझो लाग्ने गरी कम्तीमा २०७४ सालपछि मुलुकमा भइरहेको आमुल परिवर्तनका विषयवस्तुहरु पस्कन सक्नुपर्ने औंल्याउनु भयो ।
प्रेस चौतारी नेपाल झापा जिल्ला कमिटीका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा आयोजित विस्तारित बैठकले चैत १५ गते काठमाडौंमा रिपोर्टिङकै क्रममा रहेका पत्रकार सुरेश रजकलाई जलाएर हत्या गर्नेको पहिचान गरी कारबाही गर्न सरकारसँग माग गरिएको छ ।
बैठकमा नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुब्रत न्यौपानेले मृतक पत्रकार रजक हत्या काण्डबारे छानविन गरी दोषीलाई कारबाही गर्न गरिएको दबावमुलक आन्दोलनबारे जानकारी गराउनु भएको थियो । उहाले २०८१ चैत मसान्तभित्र सदस्यता नविकरण गरिसक्नुपर्ने समयसीमा पनि पत्रकारलाई स्मरण गराउनु भएको छ ।
सो बैठकमा प्रेस चौतारी नेपालको चैत १०–१२ मा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय समितिमा सर्वसम्मत निर्वाचित सदस्यहरुलाई बधाई ज्ञापन गरिएको थियो ।
बैठकले आगामी बैशाख ६ गते शनिबार र ११ गते बिहीबार वार्षिक कार्ययोजनामा समेटिएका दुईवटा रचनात्मक कार्यक्रम सञ्चालन गर्नका लागि उपसमिति पनि गठन गरेको छ ।
संगठनका सचिव युवराज आचार्यले सहजीकरण गरेको बैठकमा आमन्त्रित पार्टी नेतृत्व, संगठनको नेतृत्व एवम् सहभागीहरुलाई उपाध्यक्ष सुनिरा मैनालीले शाब्दिक स्वागत गर्नु भएको थियो ।









