दमक, २६,चैत । दमक भन्ने वित्तिकै सहर मात्र हो भन्ने बाहिरकाले बुझ्ने बुझाई छ । नगरको वडा नम्बर ५, ६, ७ मुख्य रुपमा पूर्ण सहर भएपनि अन्य वडाहरु बढी मात्रामा खेतीयोग्य जमिन भएका वडामा पर्दछन् । यस हिसाबले पनि दमक नगरले कृषि क्षेत्रको प्रवद्र्धनमा सघाउन कृषि औजार तथा उपकरण अनुदान कार्यक्रम अघि बढाएको छ ।
जस अन्तर्गत यस वर्षको कार्यक्रममा नगरमा रहेका बिभिन्न किसान समूह र व्यक्तिगत रुपमै खेती गरिरहेका किसानहरुलाई समेत कृषि औजार वितरण गरिएको छ । मंगलबार नगरपालिकामा औपचारिक कार्यक्रमको आयोजना गर्दै १५ वटा कृषि समूहलाई मकै छोडाउने मेसिन वितरण गरियो भने १२६ जना किसानलाई विषादी छर्ने मेसिन, ३८ जनालाई मकै रोप्ने मेसिन वितरण गरियो । अवको केही दिनमा ४८ जनालाई ड्याङ खन्न मिल्ने सानोखाले हलो पनि वितरण गरिने छ । किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार प्रदान गरिएको हो । नगरपालिकाले खरिद गरेर ल्याएको औजार लैजान किसानले ५० प्रतिशत रकम भुक्तानी गरेका छन् । सबै सामानको कुल मूल्य ७ लाख ६० हजार पुगेको र यसमा ३ लाख ८० हजार रुपैँया किसानको लगानी परेको नगरपालिकाको कृषि शाखा प्रमुख चन्दा भट्टराईले जानकारी दिनुभयो । उहाँले यी औजारको प्रयोग गर्ने तरिका पनि सिकाउनु भयो ।
कृषि औजार वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख रामकुमार थापाले कृषि उत्पादनमा जोड दिनका लागि कृषि औजार वितरण गरिएकाले यसले कृषकलाई उत्साह भर्न सक्ने जनाउनु भयो ।
कार्यक्रमा नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईंले कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि प्राप्त नहुने भन्दै कृषिलाई आधुनिकिकरण गर्नु आवश्यक भएकाले कृषि औजार प्रदान गरिएको प्रसंग अघि सार्नुभयो ।
५० प्रतिशत अनुदानमै भएपनि कृषि औजार पाएकोमा किसानहरु दङ्ग देखिन्थे । यसको सहि सदुपयोग गर्न सके उत्पादन बृद्धि हुनेमा उनीहरुको समेत विश्वास रहेको छ । दमकका ८० प्रतिशत भुभागक खेती योग्य छ ।
यहाँ वडा नम्बर १, ५ र ७ को केही भुभाग, ८ को दक्षिण तर्फका अधिकांश भुभाग, वडा नम्बर २, ३, ४, ९ र १० व्यवसायीक खेती हुने गर्दछ । वडा नम्बर ६ मा भने कौशी खेती गरेर तरकारी तथा अन्य कृषि उत्पादन हुने गरेको छ ।









