पथरी, २७ चैत / मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयमा केन्द्रको विवादले बन्न नसकेको प्रशासनिक भवन वडा नम्बर १० को शिविरडाँडामा बनाउने तयारी अघि बढेको छ ।
बुधबार नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी दिएको हो । भवनका लागि आवश्यक १२ कठ्ठा जग्गा गत फागुन १२ गते नेपाल सरकारको मन्त्री परिषद्बाट निर्णय भएको नगर प्रमुख मोहनप्रसाद तुम्वापोले जानकारी गराउनुभयो ।
सो कार्यका लागि आवश्यक आर्थिक व्यवस्थापन तथा टेन्डर आह्वान प्रक्रिया सँगसँगै अगाडि बढिरहेको नगर प्रमुख तुम्वापोले जानकारी दिनुभयो । उहाँले वैशाख महिनादेखि नै निर्माण कार्य सुरु भएर दुई वर्षभित्र सम्पन्न गर्ने उद्देश्य सहित अगाडि बढेको उल्लेख गर्नुभयो ।
पत्रकार सम्मेलनमा नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडा नम्बर ४ का अध्यक्ष लोकनाथ न्यौपाने, १० का वडाध्यक्ष जीवन खतिवडा, लेखा शाखा प्रमुख पीताम्बर वस्ती लगायतको उपस्थिति रहेको थियो ।









