पथरी, २८ चैत / नेकपा एमाले पथरी शनिश्चरे नगर कमिटीको दोस्रो अधिवेशन अन्तर्गतको निर्वाचनबाट अध्यक्षमा सञ्जीव गिरी निर्वाचित बन्नु भएको छ ।
अध्यक्षका तीनजना प्रत्यासीमध्ये सबैभन्दा कम उमेरका युवा पुस्ताका गिरीले ८१ मत ल्याएर आफूलाई निर्वाचित बनाउन सफल बन्नुभयो । अध्यक्षका प्रत्यासी बाबुराम एङ्देनले ७६ र यामप्रसाद गुरागाईंले ९ मत प्राप्त गरेर हार स्वीकार्नुभयो । एङ्देन वडा नम्बर १ र गुरागाईं २ नम्बर वडाका जनप्रतिनिधिका रुपमा अघिल्लो कार्यकालको वडाध्यक्ष हुनुहुन्थ्यो ।
हाल २ नम्बर वडाध्यक्ष रहनु भएका नैना राईले ९८ मत ल्याएर एमाले नगर उपाध्यक्षमा आफूलाई निर्वाचित गराउनु भयो । उपाध्यक्षका प्रत्यासी पूर्व कार्यपालिका सदस्य अरुणा राईले ४० र एलबी भण्डारीले २४ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी सचिवमा वडा नम्बर ७ का पूर्व वडा सदस्य विरोज मगरलले ६५ मत प्राप्त गरी विजयी बन्नु भयो भनें काशीहाङ राईले ५६, तीर्थ आचार्यले २४ र अशोक साम्पाङले १६ मत ल्याएर हार व्यहोर्नुभयो । उपसचिव पदमा ५३ मत ल्याएर मणि सुब्बा निर्वाचित बन्नुभयो । उपसचिवका उम्मेदवार निर्मल कटुवालले ४०, निर्मला राईले ३४ र रोशन बुढाथोकीले ३२ ल्याउनु भयो । महिला उपसचिवमा चन्द्रकला कार्की निर्विरोध बन्नु भएको छ ।
कुल १७४ जना मतदाता रहेकोमा १६९ मत खसेको निर्वाचन आयोगका प्रमुख अर्जुन बुढाथोकीले जानकारी दिनुभयो ।









