दमक, २९ चैत / इलाममा ट्रयाक्टर चोरी गरी लैजाँदै गर्दा दुर्घटनामा परी चोरी गर्नेको ज्यान गएको छ ।
इलाम ७ का ईश्वर राईले बाटोमा पार्किङ गरी राखेको को.१ त ७३४१ नम्बरको ट्रयाक्टर चोरी गरेर लैजादा दुर्घटना भयो र एकजनाको ज्यान गएको छ । घाइते अबस्थामा फेला परेका करिब ३५ वर्षीय युवालाई उपचारका लागि जिल्ला अस्पताल इलाम पुर्याइएकोमा उपचारका क्रमा मृत्यु भएको थियो । यो समाचार तयार पार्दासम्म मृतकको पहिचान खुल्न बाँकी रहेको छ । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले मृतकको पहिचान खुलिनसकेको जनाउनु भयो ।
ट्रयाक्टर धनी राईले विगत ४–५ महिनादेखि सो ट्रयाक्टर बाटोमा राखेका थिए । उनी आफैले सो ट्रयाक्टर चलाउने गरेका थिए । विरामी भएपछि ट्रयाक्टर थन्किएको थियो । ती व्यक्तिले ट्रयाक्टर लिएर जाँदै गर्दा टर्निङमा पल्टिएको प्रहरीले जनाएको छ ।









