सिमसार दिवस

विश्व सिमसार दिवस : सिमसार अतिक्रमणले जैविक विविधतामा ह्रास

 

 

 

 

झापा  हरेक वर्ष फेब्रुअरी २ मा मनाइने ‘विश्व सिमसार दिवस’ नेपालमा यस वर्ष ‘दलदल, पानी, पोखरी र खोला, संरक्षण गरे सर्वहित होला’ नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा बढ्दो कोभिड–१९ को सङ्क्रमणका कारण तोकिएका जनस्वास्थका मापदण्ड पालना गरी मधेस प्रदेशको अगुवाइमा सिमसार संरक्षणसम्बन्धी राष्ट्रियस्तरको कार्यक्रम कोसीटप्पु वन्यजन्तु आरक्षमा गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

विभाग, मधेस प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालय र कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालयको संयुक्त आयोजनामा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र र वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवको आतिथ्यतामा आरक्षको पश्चिमतर्फ सप्तरीमा कार्यक्रम गर्न लागिएको हो ।

संरक्षित क्षेत्र र डिभिजन वन कार्यालयहरूमा स्वास्थ्यका मापदण्ड पालना गरी दिवसका विभिन्न कार्यक्रम गर्न लागिएको विभाग र वन तथा भू–संरक्षण विभागले जनाएका छन् । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिकस्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नुका साथै मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ ।

विभागका महानिर्देशक रामचन्द्र कँडेलले सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्ने बताए । सिमसारले वातावरण संरक्षण तथा पर्यापर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पर्यटकका लागि पौडी खेल्ने, डुङ्गा चलाउनेदेखि सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकनलगायतका प्राकृतिक सौन्दर्यताको अनुभव सिमसारले नै उपलब्ध गराउँछ ।

सिमसारको अत्यधिक उपयोग, भूमि अतिक्रमण, पानीका मुहान तथा दलदल क्षेत्रको मर्मतसम्भार नहुँदा, मिचाहा प्रजाति आदिले सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको उनले जानकारी दिए । यसबाहेक जलवायु परिर्वतनका असरले पोखरी सुक्दै गएका कारण पनि सिमसार क्षेत्र संरक्षणमा चुनौती थपिएका छन् ।

यही विषयलाई मध्यनजर गरी सरकारले स्थानीय तहसँगको समन्वयमा सिमसार क्षेत्र संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम अघि सारेको छ । विश्वको करिब नौ प्रतिशत र नेपालको करीब पाँच प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन् । विश्व संरक्षण सङ्घ नेपालको १९९८ को अभिलेखअनुसार नेपालमा १६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् ।

सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, किटपतङ्ग र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान हो । विभागको तथ्याङ्कानुसार नेपालमा पाइने १७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये १९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको विभागको तथ्याङ्क छ । त्यस्तै २४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन् ।

विश्वव्यापीरूपमा सिमसार क्षेत्रको संरक्षण र सर्वद्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि १९७१) २ फेबु्रअरी १९७१ मा इरानको रामसार भन्ने सहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरीलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो ।

रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्दछ । हालसम्म यसमा आवद्ध देशको सङ्ख्या १७० पुगेको छ । साथै दुई हजार ३१४ सिमसार रामसारको सूचीमा सूचीकृत छन् ।

सन् १७ डिसेम्बर १९८७ का दिन नेपालले कोसीटप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर १७ अप्रिल १९८८ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको हो । रामसार सूचीमा नेपालका कोसीटप्पु, घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय, बीसहजारी तथा आसपासका तालहरू, रारा ताल, फोक्सुण्डो ताल, गोसाइँकुण्ड तथा आसपासका तालहरू, गोक्यो तथा आसपासका तालहरू, माईपोखरी र पोखरा उपत्यकाका ताल सूचीकृत छन् । यी सिमसार क्षेत्रले ओगटेको कूल क्षेत्रफल ६० हजार ५६१ हेक्टर छ ।

सिमसार एक गतिशील, विविधतायुक्त र उर्वर पारिस्थितिकीय प्रणाली हो । सिमसारलाई जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिकोणले मूल्यवान प्राकृतिक प्रणालीको अंश मानिन्छ । यसले पानीको स्रोत संरक्षण गर्नुका साथै यसको बहाव र गुणस्तर कायम गर्छ ।  सिमसार क्षेत्रले सिँचाइ, मत्स्यपालन, पर्यापर्यटन, कृषि उत्पादकत्व अभिवृद्धिमा सहयोग पुर्याउने लगायत जैविक विविधताको दिगो व्यवस्थापनमार्फत राष्ट्रिय तथा स्थानीय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याएको हुन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।