बिर्तामोड, ३ वैशाख । नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले आगामी जेठ १ गतेदेखि बिर्तामोडमा विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना गर्ने भएको छ ।
प्रदर्शनीमा कोशी प्रदेशका हरेक जिल्लाबाट १० वटा र झापाबाट थप १० गरी १ सय ५० वटा विद्यालय सहभागी गराउने तयारी भइरहेको नेकपा एमाले कोशीको विज्ञान तथा प्रविधि विभाग प्रमुख गणेश पोख्रेलले जानकारी दिनुभयो ।
विज्ञान शिक्षक समाजसँगको समन्वयमा हुन लागेको प्रदर्शनीमा पहिलो, दोस्रो, तेस्रो र चौथो हुने विद्यालयलाई क्रमशः ४ लाख, ३ लाख, २ लाख र १ लाख नगद पुरस्कार प्रदान गरिने छ भने अरू २५ वटा विद्यालयलाई सान्त्वना पुरस्कार २५ हजारका दरले प्रदान गरिने विभाग प्रमुख पोख्रेलले जानकारी दिनुभयो ।
कार्यक्रम सम्पन्न गर्न ३५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रदर्शनीस्थलमा २० वटा व्यावसायिक शैक्षिक स्टल राखिने र उनीहरूबाट १ लाखका दरले शुल्क लिइने छ । कार्यक्रमका लागि अपुग रकम दाताहरुबाट सहयोग लिइने बताइएको छ । अन्य सहभागी विद्यालयलाई निःशुल्क स्टल उपलब्ध गराउने आयोजकले जनाएको छ ।
प्रदर्शनीबारे जानकारी दिन आज विर्तामेडमा आयेजित पत्रकार सम्मेलनमा एमाले कोशी इन्चार्ज शेरधन राईले विज्ञान तथा प्रविधिको युगतर्फ लम्किरहेको समाज अनुकूल नयाँ पुस्तालाई डो¥याउन यस्ता प्रदर्शनीहरु आयोजना गर्दै जाने बताउनुभयो । उहाँले एमालेका सबै विभागहरुलाई यसैगरी सक्रिय गराउँदै ‘मिसन—८४’ सफल पार्ने दिशामा पार्टी अघि बढिरहेको समेत दाबी गर्नुभयो ।









