दमक, ४ बैशाख / उत्तरपूर्वी मोरङको एउटा महत्वपूर्ण शैक्षिक संस्थाको इतिहास बनाएको पथरी शनिश्चरे ९ रिंगुवामा अवस्थित सिंहवाहिनी माविले विद्यालय र विद्यार्थीको हितमा थप काम हुने अपेक्षाकासाथ भूपू विद्यार्थी सञ्जाललाई स्वागत गरेको छ ।
भूपू विद्यार्थी सञ्जालको विधान मस्यौदा सम्बन्धि बैठकको समेत सन्दर्भ पारेर विद्यालयका प्रधानाध्यापक उमेशकुमार खड्काले सञ्जालको कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुलाई खादा लगाएर स्वागत गर्नुभयो । उहाँले विद्यालयमा आवश्यक खानेपानीको समस्या समाधानमा युभी प्लान्ट जडान, रंगरोगनका लागि रंग उपलब्ध गराएको सहितका सञ्जालका गतिविधिको प्रसंशा गर्नुभयो ।
सञ्जाल अध्यक्ष राजकुमार नाछिरिङ राईको अध्यक्षताको बैठकमा विधान मस्यौदामाथि छलफल गरी पारित गरिएको छ । संस्था दर्ताको प्रक्रिया अघि बढाउँदै अक्षयकोष समेत खडा गर्ने विषयमा छलफल गरिएको सचिव भूपेन्द्रराज तिम्सिनाले जानकारी गराउनु भयो ।
०३५ सालमा ग्रामिण क्षेत्रमा स्थापित सो विद्यालयमा कक्षा १२ सम्मको अध्यापन हुँदै आएको छ । विद्यालयको सबै पक्षको उन्नतीमा सघाउँदै गुणस्तरीय शिक्षाको महत्वपूर्ण थलो बनाउने काममा भूमिका निर्वाह गर्ने उद्धेश्य लिएर सञ्जाल स्थापना भएको छ ।









