दमक, ५ बैशाख / दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुला पुरुष क्लबस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजले जितेको छ ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा सीइसी काठमाडौंलाई ५ विकेटले हराउँदै गण्डकी हिरोज च्याम्पियन बनेको हो । उसले १० लाख रुपैयाँसहितको उपाधि प्राप्त गर्दा उपविजेता काठमाडौंले पाँच लाख रुपैयाँमा चित्त बुझाउन बाध्य भयो ।
१८३ रनको विजयी लक्ष्य गण्डकीले १७.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । गण्डकीका बसन्त कार्की २७ रन तथा नारायण जोशी १३ रनमा नटआउट रहँदै टोलीलाई जित दिलाउने काममा योगदान रह्यो । बसन्तबाट १७ बलमा ३ छक्का र नारायणले १० बलमा १ छक्का प्रहार भयो । किरण ठगुन्नाले २६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५२ रनको योगदान दिनु भयो ।
यस्तै, काठमाडौंका दिपेन्द्र रावत प्लेयर अफ दी टुर्नामेन्ट घोषित भई नगद ३० हजार रुपैयाँ प्राप्त गर्नुभयो । उत्कृष्ट ब्याटर अत्तरियाका विपिन रावल र उत्कृष्ट बलर लुम्बिनीका अजय कुमार चौहान घोषित हुँदै समान २०–२० हजार रुपैयाँ हात पार्नुभयो ।
चैत २३ गतेबाट सुरुभएको प्रतियोगितामा १६ टिमको सहभागिता थियो । बागमतीबाट ४ र अन्य प्रदेशबाट २–२ वटा क्लबको सहभागिता रहेको थियो ।
यी बाहेक एकेडेमीले पुस १७ गते इन्डो नेपाल भलिबल, फुल कन्ट्याक्ट कराते, राष्ट्रिय जुुनियर टेबलटेनिस, बैशाख ८ गते राष्ट्रिय तेक्वान्दो, २० गते रोड रेस, जेठ ३ गते महिला राष्ट्रिय भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको छ ।









