मोरङ — मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज मन्त्रिपरिषद विस्तार गर्दै छन् । प्रदेश प्रमुख कार्यालयको सचिव तुलसीराम सेढाईंले बिहान ११ बजे मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी गरिएको बताए ।
मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तारका लागि ८ जनालाई मन्त्रीको शपथ ग्रहण गराउने तयारी गरेको हो ।
आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका उपनेता रामकुमार राई, कृषि तथा पशुपक्षी विकासमन्त्रीमा माओवादी केन्द्रका प्रमुख सचेतक झलकबहादुर मगर नियुक्त हुने निर्णय भएको बताए ।
यस्तै, सामाजिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का राजन राई, पर्यटन तथा संस्कृतिमन्त्रीमा एकीकृत समाजवादीका खिनु लङ्वा लिम्बु र विना विभागीयमा एकीकृत समाजवादीका उपेन्द्र घिमिरेलाई नियुक्त गर्ने निर्णय गरिएको उनले बताए । घिमिरेलाई कुन मन्त्रालयको जिम्मेवारी दिनेबारे निर्णय भइनसकेको मन्त्री आङ्बोले बताए ।
कांग्रेसबाट वन, वातावरण तथा भूसंरक्षणमन्त्रीमा शेखरचन्द्र थापा, उद्योग, श्रम तथा रोजगारमन्त्रीमा प्रकाशप्रताप हाङ्गाम र भूमि, सहकारी तथा यातायातमन्त्रीमा ओमप्रकाश सरावगीलाई नियुक्त गर्ने तयारी गरिएको कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बताए ।
कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरी ५ दलीय गठबन्धनको सरकारले आइतबार ७ बाट मन्त्रालयको संख्या १२ पुर्याउने निर्णय गरेको थियो तर अहिले अझै एउटा मन्त्रालय थप गर्ने तयारी गरिएको मन्त्री आङ्बोले बताए । अब प्रदेश १ मा १३ वटा मन्त्रालय हुने भएको छ ।
यसअघि मन्त्री नियुक्त भएका जनता समाजवादी पार्टीका नेता जयराम यादव स्वास्थ्यमन्त्री, कांग्रेसका उपनेता हिमाल कार्की सडक, पूर्वाधार तथा सहरी विकासमन्त्री, आर्थिक मामिला तथा योजनामन्त्रीमा आङ्बो र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा कांग्रेसका प्रमुख सचेतक केदार कार्की छन् । सामाजिक विकास राज्यमन्त्रीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी एक मात्र सांसद विष्णु तुम्बाहाम्फे नियुक्त भएका हुन् ।
मन्त्रिपरिषद् विस्तारमा कांग्रेसको असन्तुष्टि
मुख्यमन्त्री राईले कांग्रेसको संसदीय दललाई पाखा लगाएर सभापति शेरबहादुर देउवासँगै बसेर मन्त्रालय बाँडफाड र मन्त्रीको नाम छनोट गरेकाले शेखर कोइराला निकट आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले राजीनामा दिने तयारी गरेको छ ।
प्रदेश १ संसदीय दलमा कोइराला निकट प्रदेश सांसदहरुको बहुमत रहेको छ । मुख्यमन्त्री राईले देउवा निकट हाङ्गाम, थापा र सरावगीलाई मन्त्री नियुक्त गरेकाले कोइराला पक्ष असन्तुष्ट छन् ।