मेचीनगर, ३१ वैशाख । प्रहरी प्रमुखका रुपमा राजन लिम्बु झापामा हाजिर भएको साता दिन नवित्दै ठूलो परिमाणको अवैध वित्तीय कारोबारमा संलग्नहरु पक्राउ पर्न थालेका छन् । यद्यपि बुधवार मेचीनगरबाट अवैध वित्तीय कारोबारमा संलग्नहरुलाई पक्राउ गर्न सीआईबी टोलीको प्रमुख भूमिका देखिएको छ ।
प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध वित्तीय कारोबारमा संलग्न ७ जनालाई झापाको मेचीनगरबाट पक्राउ गरेको छ । धुलाबारीमा बसी गिफ्टोरियम नाममा आयात निर्यातको कारोबार गर्दै आएका कविस मारु, अनुज मारुसहित निर्मल राई, दिपेन्द्र खड्का ,महेश पौडेल , अंकित अग्रवाल र सुनिल राईलाई सीआईबीले आज बिहान नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबै जनालाई आजै काठमाडौं लगिएको छ ।
पक्राउ परेकाहरूले अवैध कारोबार गरी नेपालमा ठूलो परिमाणमा रकम परिचालन गरेको प्रहरीले जनाएको छ । उनीहरुको समुहले अर्बौको अवैध कारोबार गरिहेको प्रहरी स्रोत बताउँछ । आज पक्राउ परेकाहरुबाट कति रकम बरामद भयो भन्नेचाहिँ खुलिसकेको छैन
मंगलवार स्थानीय सञ्चारकर्मीहरुको भेटमा झापाका प्रहरी उपरीक्षक लिम्बूले ‘एक साताभित्रै केही संकेत देखिने’ खुलासा गर्नुभएको थियो । उहाँको यो संकेत यही अवैध कारोबारी गिरोहतर्फ लक्षित थियो या अर्कै केही, त्यो भने स्पष्ट भइसकेको छैन ।
सीआईबी टोलीले दुई साताअघि पनि अवैध वित्तीय कारोबारमा संलग्न २१ जनालाई पक्राउ गरी करिव १८ अर्व रुपैयाँ बरामद गरेको थियो । आज पक्राउ परेका व्यक्तिहरुको त्यो समुहसँग सम्बन्ध रहेको सीआईबीको दाबी छ ।









