दमक, १ जेठ / दमकमा कसैलाई दूध, दही, घ्यू वा दूधजन्य कुनै पनि सामग्री चाहियो भने साझा डेरी उद्योगको नाम आउने गरेको छ । किनकि, यहाँ उत्पादन भएका दूधजन्य सामग्रीमा कुनै पनि मिसावट नहुने विश्वास छ । किसानबाट किनेर ल्याएको धेरैजसो दूधलाई सोझै प्याकेजिङ गरिन्छ अनि बाँकी दूधलाई बिभिन्न मेसिनहरुमा प्रशोधनकालागि राखिन्छ र दूधजन्य अन्य सामग्रीको उत्पादन हुन्छ । यही विश्वासकै कारण दमकका युवराज श्रेष्ठले यहाँबाट दूधजन्य सामग्री लगेर निरन्तर प्रयोग गरेको ६ वर्ष भयो । साझा दूध डेरीको शुद्धता र गुणस्तरीयतामा उहाँ निश्चिन्त रहेको प्रतिकृया दिनुहुन्छ ।
उपभोक्ताको विश्वास जित्दै बिगत ४० वर्षबाट दमक ८ मा साझा दूध डेरी निरन्तर सञ्चालन भइरहेको छ । यहाँ दुध, दही, घ्यू, पनिर, मोही, चीज लगात बिभिन्न दुधजन्य सामग्रीहरु शुद्ध र गुणस्तरीय ढंगले उत्पादन हुने गर्दछ । उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै बिना मिसावट शुद्धतामा ध्यान दिएर आफ्नो उत्पादनहरु बढाइरहेको सञ्चालक बीना खतिवडाले बताउनु भयो । उहाँका अनुसार शारीरिक रुपमा स्वस्थ हुने हो भने पनि शुद्ध दूधजन्य सामग्रीहरुको प्रयोग गर्नु पर्छ । पछिल्लो सयममा गर्मीको समयमा कोल्ड ड्रिङक्सको साटो दही र मोहीको प्रयोग समेत बढेकाले त्यसको उत्पादनलाई समेत थप शुद्ध र ब्राण्डिङ गर्ने काम गरिरहिएको उहाँले बताउनु भयो ।
हाल यहाँ दैनिक २ हजार ४ सय लिटर दूध संकलन हुने र त्यसमध्ये १ हजार लिटर त मोही नै बिक्री हुने बताउनु हुन्छ । अहिले नै उहाँको डेरीमा दही र मोही लिनेको भिडभाड बढिरहेको छ । गर्मीको मध्य सिजनमा उहाँकोबाट २ हजार लिटरसम्म मोहीको बिक्री वितरण हुने गरेको अवस्था छ ।
दूधको शुद्धता परीक्षण र शुद्धता अनुसार किसानलाई त्यसको मूल्य दिएर उपभोक्तालाई समेत सहज र शुद्ध दूधजन्य सामग्रीको उत्पादन र वितरण गर्ने प्रमुख उद्धेश्य सो डेरीले राखेको छ ।









