दमक, १ जेठ / झापाको दमकमा नेपालकै अग्लो बिजनेस टावरका रुपमा रहेको १८ तले बिजनेस टावर शुल्क लिएर सञ्चालन गर्ने दिने सरकारले निर्णय गरेको छ ।
वैशाख ३१ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसबारे यसबेला जानकारी दिनु भएको छ । गुरुङले दमक बिजनेस टावर हाललाई शुल्क लिइ सञ्चालन गर्न स्वीकृति दिने निर्णय भएको जानकारी गराउनु भयो । औद्योगिक सम्पतिसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा प्रस्तुत गर्नसमेत स्वीकृति दिने निर्णय भएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर २२ गते उद्घाटन भएपनि टावर सञ्चालनको विधि विधान तथा कस्ले कसलाई सञ्चालन गर्न दिने भन्ने निर्णय हुन बाँकी रहेको अवस्थामा सरकारको यो निर्णय आएको हो । प्रधानमन्त्री ओलीकै योजनामा ओलीको गृहजिल्लास्थित दमक नगरपालिका ३, दापगाछीमा करिब २ अर्ब रुपैयाँको लागतमा निर्माण सुरु भएको यो टावरबारे सकारात्मक र नकारात्मक दुबै हिसावले व्यापक चर्चा छ ।
मुलुक कोरोना महामारीमै रहेका बेला प्रधानमन्त्री ओलीले ६ वर्षअघि सो टावरको शिलान्यास गर्नुभएको थियो । १ सय मिटर अग्लो टावर चिनियाँ निर्माण कम्पनी जेडसीजीआइआईसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा २ वर्ष अघि निर्माण सकेका हुन् ।









