दमक, ५ जेठ / झापाको दमक–५ स्थित सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८२ का लागि विद्यार्थी नेतृत्व चयन तथा शपथ ग्रहण कार्यक्रम आइतबार उत्साहपूर्वक सम्पन्न भएको छ ।
नेतृत्व विकास र लोकतान्त्रिक अभ्यासको प्रवद्र्धन गर्ने उद्देश्यले विद्यालयले हरेक वर्षझैं यस वर्ष पनि स्कूल क्याप्टेन, भाइस क्याप्टेन, हाउस क्याप्टेन तथा हाउस भाइस क्याप्टेन पदहरूमा निर्वाचन सम्पन्न गरेको हो ।
यसपटकको निर्वाचन विशेष रहेको थियो, किनभने करिब ९० प्रतिशत सम्पूर्ण प्रक्रिया विद्यार्थीहरूको नेतृत्वमै सम्पन्न भएको विद्यालयले जनाएको छ । उम्मेदवारी दर्तादेखि प्रचारप्रसार, मतदान, मतगणना र नतिजा प्रकाशनसम्मका कार्य विद्यार्थी टोलीले आफ्नै व्यवस्थापनमा सम्पन्न गरे ।
निर्वाचनपछि विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा नव–निर्वाचित क्याप्टेनहरूलाई प्रधानाध्यापक नवीन योगीले ब्याच प्रदान गर्नुभयो, भने शपथ ग्रहण कार्यक्रम पूर्व क्याप्टेनहरूको अगुवाइमा सम्पन्न भयो ।
विद्यालयले यस किसिमको अभ्यासले विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास, लोकतान्त्रिक मुल्य र जिम्मेवारीबोधको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छ ।
सर्वोदयले शिक्षासँगै व्यवहारिक ज्ञान, सिर्जनशीलता र सामाजिक जिम्मेवारीमा जोड दिँदै ‘सिक्ने स्कुल’को पहिचान बनाउँदै आएको छ ।









