दमक, ११ जेठ । दमकमा सामाजिक सेवामा सक्रिय सानो प्रयास युवा समाजले अति आवश्यकीय एम्बुलेन्स सेवापछि शववाहन सेवा सञ्चालनमा ल्याएको छ ।
करिब १२ लाख रुपैयाँको लगानीमा खरिद गरिएको सो साधन दमक, कमल, उर्लाबारी लगायत आसपासका क्षेत्रमा सेवा दिने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको हो ।
अन्य शव वाहनको तुलनामा सहुलियत शुल्कमा सेवा प्रदान गरिने र आर्थिक रूपमा कमजोर परिवारहरूलाई विशेष छुट दिइने संस्थाका अध्यक्ष छबि खतिवडाले जनाउनु भयो । अध्यक्ष खतिवडाले भन्नुभयो, ‘शव वाहनजस्तो संवेदनशील सेवामा पनि हामीले सामाजिक उत्तरदायित्व महसुस गर्दै राहत प्रदान गर्ने उद्देश्यले यो सेवा सञ्चालन गरेका हौं ।’
आर्थिक विपन्न तथा ठूला परिवारलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको सो साधनमा ३० जना यात्रु अटाउन सक्ने सुविधा छ, जुन अन्य शव वाहनको तुलनामा धेरै हो । यसले गर्दा अन्तिम संस्कारमा सहभागी परिवारका सदस्यहरूले अर्को साधनको आवश्यकता बिना एउटैमा यात्रा गर्न सक्ने छन् । संस्थाले सामाजिक उत्तरदायित्वको काम अन्तर्गत यसअघि दमकमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइसकेको अवस्था छ ।
कोरोना महामारीको समयमा स्थापना भएको संस्था विभिन्न सामाजिक कार्यहरू—खाद्यान्न वितरण, झुल सहयोग, सरसफाई अभियान, शैक्षिक सामग्री वितरण, र निःशुल्क डेन्टल क्याम्पजस्ता कामहरू गर्दै आइरहेको छ । संस्थाले टोल नगर हुँदै राष्ट्रसम्मको रुपान्तरणको निम्ति’ भन्ने मूलमन्त्रका साथ सामाजिक सेवामा आफ्नो सक्रियता बढाउँदै आएको छ ।









