दमक, २१ जेठ / स्थानीय सरकार नागरिकहरुसंग प्रत्यक्ष जोडिने सरकार हो । यसले आफ्नो ऐनभित्र रहि विकास निर्माणका कार्यसंगै पछि परेका समुदायका लागि राहत समेत प्रदान गर्ने गरेको छ ।
यसक्रममा झापाको दमक नगरपालिका वडा नम्बर ६ ले पनि आफ्नो वडाभित्र रहेका आर्थिक विपन्न, दलित र पिछडिएका वर्गलाई वार्षिक कार्यक्रममा बजेट व्यवस्थापन गरी सम्बोधन गर्दै आएको छ । सोही क्रममा वडाले आर्थिक विपन्न दलित परिवारहरूलाई लक्षित गर्दै खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ । मँगलबार वडा कार्यालयमा आयोजित कार्यक्रमकाबीच २५ परिवारलाई चामल, नुन र तेल वितरण गरेको छ । वडामा रहेका आर्थिक अवस्था कमजोर रहेका परिवारहरूलाई राहत पुर्याउने उद्देश्यले राहत वितरण गरिएको वडा अध्यक्ष टेकबहादुर थापाले जनाउनु भयो । उहाँले यस्ता प्रकारका कार्यक्रमले आर्थिक समस्यामा परेका नागरिकहरुलाई केही हदसम्म राहत पुग्ने भएकाले आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ६ की वडा सदस्य कमला बस्नेत खातीले यसअघि वडाले सीपमूलक कार्यक्रमहरुमा प्राथमिकता दिँदै आएको भएपनि यस पटकको समितिको निर्णयअनुसार खाद्यान्न वितरण गरिएको जानकारी दिनुभयो ।
वडाले खाद्यान्न वितरणमा छुट्याएको २ लाख रुपैयाँ बजेटले राहत वितरण गरेको हो । वडाले खाद्यान्न वितरण गर्दा आफूहरुलाई ठूलो राहत पुगेको लाभग्राहीमध्येकी कमला रणपहेलीले खुसी व्यक्त गर्नुभयो ।
स्थानीय सरकारले लक्षित वर्गलाई दिँदै आएको राहतले वास्तविक समस्यामा परेकाहरुले पक्कै पनि राहत पाएको महसुस गर्ने भएकाले त्यस्ता परिवारलाई छान्न मापदण्ड नै बनाएर वडाले काम गरेको वडा कार्यालयले जनाएको छ ।









