उर्लाबारी नगरपालिकाका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सिर्जनशीलतालाई पर्गेल्न, तिखार्न र निखार्नका लागि राधिका माध्यमिक विद्यालयको राधिका बालक्लवको आयोजना र राधिका माध्यमिक विद्यालयको संयोजनमा सञ्चालन भएको ‘राधिका पोएट आइडल’ मा सहभागी ४८ जना विद्यार्थीहरूबाट विभिन्न चरण पार गर्दै पशुपति आमाविकी तृप्ती भण्डारी प्रथम, राधिका माविका किस्मत बास्तोला द्वितीय र राधिका माविकै प्रतीक थुलुङ राई तृतीय भएका छन् । भाइबहिनीहरूको सिर्जनशील क्षमताबाट हामी प्रभावित भएका छौँ । भाइबहिनीहरूले निरन्तर लेखिरहेको देख्न पाऊँ ।
राधिका पोएट आइडलले प्रथम द्वितीय र तृतीय पाएसँगै हामी सुमन राई, मुना आत्रेय र मैले पनि हाम्रो जिम्मेवारी पूरा गरेका छौँ ।
तर निर्णायका कुर्सीमा बसेर केही प्रश्नहरू बोकेर फर्किएको छु । उर्लाबारी नगरपालिकाभरिमा संस्थागत र सामुदायिक गरेर झण्डै ३० वटा माध्यमिक विद्यलय छन् । किन २ तिहाइजति विद्यालयहरूले विद्यार्थी सामेल गराएनन् होला ? विद्यालयले अतिरिक्त क्रियाकलापमा चासो नदिएको हो कि ?
तर त्यति विद्यालयबाट पनि थुप्रै विद्यार्थीहरूले उत्साहकासाथ सहभागिता जनाएका थिए । ४८ जना सहभागीमध्ये १८/१९ जना त राधिका माविबाट मात्रै सहभागी थिए । हरेक विद्यार्थीहरू कोहीभन्दा कोही कम थिएनन् ।
हामीले विषयवस्तु, भाव, काव्यशिल्प र प्रस्तुतिलाई समेत आधार मानेर निर्णय तयार पार्यौँ । यसमा हामीले भाइबहिनीहरूको आत्मविश्वासलाई बहुत ख्याल गर्यौँ । यो क्रममै हिमचुली माविमा कक्षा ६ मा अध्ययनरत छात्रा पुष्पा श्रेष्ठको आत्मविश्वासले म साह्रै प्रभावित भएँ । फिनालेमा १५० जनाभन्दा धेरै विद्यार्थीहरूका अगाडि त्यति कलिलो उमेरकी उनले आफ्नो कविता यति निर्धक्क वाचन गरिन् कि, मैले उनको त्यो आत्मविश्वासको प्रशंसा गर्नु जरूरी ठानें ।
गाउँ गाउँमा प्रतिभाहरू छन्, हामीले खोजी गरेर हौसला दिन जरूरी छ । जे नामबाट र जुन बहानामा भए पनि यस्ता कार्यक्रमले निरन्तरता पाउन जरूरी छ । यसका लागि राधिका बालक्लव, राधिका माध्यमिक विद्यालय विशेषगरी कार्यक्रमका संयोजक, राधिका माविका शिक्षक, नेपाली साहित्य समाजका अध्यक्ष यज्ञ परिश्रमी र राधिका माविका शिक्षक तथा राधिका बालक्लबका संरक्षक पदम लुइँटेल सरले यो कार्यक्रमका लागि तपस्या गरेजतिकै खट्नु भयो । उहाँहरूलाई जति धन्यवाद दिए पनि कम हुन्छ ।
अन्त्यमा प्रतियोगितामा सहभागी सबै भाइबहिनीलाई हार्दिक बधाई छ । पहिलो जित त सहभागी जनाउनु नै हो ।
(उदाशी, कर्मथलो उर्लाबारी भएका दमक निवासी साहित्यकार हुनुहुन्छ ।)








