दमक ,असार २० । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भारतबाट नेपाल आउने व्यक्तिले पाँच हजार अमेरिकी डलर बराबरको रकम ल्याउन सक्ने व्यवस्था रहेको जानकारी दिनु भएको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा पौडेलले भन्सारमा घोषणा नगरी पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था गरिएको जानकारी दिनु भएको हो ।
थप रकम ल्याउन चाहेमा भन्सारमा घोषणा गरेर ६ लाखसम्म भारतीय मुद्रा ल्याउन सकिने उहाँले बताँउनु भयो । उहाँले नेपालमा आउने पर्यटकको सहजताका लागि क्युआर र कार्डबाट निश्चित सीमासम्म भुक्तानी स्वीकार गर्ने व्यवस्था रहेको जानकारी दिनु भयो ।
पौडेलले भारतीय पाँच सय रुपैयाँ नेपालमा ल्याउँदा पछि भारतले फिर्ता नलिने भएकाले पाँच सयका भारतीय नोटलाई स्वीकार नगरिएको बताए । भन्सार बिन्दुबाट गाडी प्रवेश गरेपछि ठाउँठाउँमा चेकजाँच गर्नु नपर्ने व्यवस्था गरिएको बताँउनु भयो ।










