दमक, २१ असार । नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरहरुका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलहरुले आज भेट गर्नु भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो) को नेतृत्वमा आएको २० सदस्यीय प्रतिनिधिमण्डलहरुले आफूहरु नेपालमा नयाँ उद्यमहरूका लागि अर्थपूर्ण व्यावसायिक तथा दुुई देशको सम्बन्ध स्थापित गर्न र नेपालको व्यावसायिक वातावरणबारे विस्तृतरुपमा बुुझ्न भ्रमणमा आएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले नेपालको समृद्धिका लागि विदेशी लगानीलाई प्रोत्साहन र सहजीकरण गर्न सरकारले कानुुनी र संरचनात्मक सुधारहरु गर्दै आएको जानकारी गराउँदै नेपालमा लगानी गर्न आग्रह गर्नु भएको छ । उहाँले आगामी दिनमा के कस्तो सुधार र सहजीकरण आवश्यक छ भन्नेमा सरकार सँधै व्यवसायीसँग सहकार्यमा रहने जानकारी दिनु भयो ।
प्रतिनिधिमण्डलहरुले आफूहरुले नेपालमा फोहोर (प्लास्टिक) प्रसोधन, सूचना प्रविधि उद्यान, पर्यटन आदि क्षेत्रमा काम गर्न उत्सुक भएको जनाउनु भएको छ । भेटका अवसरमा नेपालमा पर्यटन, कृषि, सूचना प्रविधि, जनशक्ति, कपडा र विविध क्षेत्रहरूमा लगानीको सम्भावनाबारे छलफल भएको थियो ।










