दमक, असार २१। झापाको दमक नगरपालिका वडा नं ३ अन्तर्गत पर्ने दुम्से क्षेत्र मावा खोलासँग प्रत्यक्ष रुपमा जोडिएको कृषीयोग्य क्षेत्र हो । यहाँका अधिकांश बासिन्दाहरु कृषि पेसामा निर्भर छन् । विगतका वर्षहरुमा बर्खायाममा अत्याधिक पानी पर्दा डुबान हुने र अन्य समय सिचाँई अभाव हुने समस्याले कृषकहरुलाई ठूलो समस्या परेको थियो । तर अब भने त्यो समस्याको सामधान भएको छ । किसानहरुको खेतखेतमा खोलाको पानी जाने पक्की कुलो निर्माण भएपछि यस क्षेत्रका किसानको सिचाँईको समस्याको अन्त्य भएको छ ।
दमक नगरपालिका वडा नं ३ को १० लाख बजेटमा मावा खोला देखि खेतमा सिचाईको लागि पानी पुग्नेगरी कुलोको निर्माण कार्य सम्पन्न भइसकेको छ । यो कुलो निर्माणपछि किसानहरुले वर्षभरिनै पानी पाएका छन् । यसरी सिचाँईको समस्या सामधान भएपछि उत्पादनमा वृद्धि भएको किसानहरुको भनाई छ । वर्षभरिनै खेतमा पानी पुगेपछि धानको मात्र नभई मकै, गहँु , आलु लगायतका हरेक बालीमा उत्पादनको वृद्धि भएको दुम्सेका कृषक जंगबहादुर थापाको भनाइ छ ।
विगतका वर्षहरुमा सिचाँईका लागि पानीको अभाव हुदाँ किसानहरुले थुप्रै समस्या झेल्नुपरेको थियो । खेतमा खडेरी लाग्दा डोकोमा धरी पानी बोकेको दुःख सुनाउनुहुन्छ दुम्सेका स्थानीयवासी प्रदिप बस्नेत । उहाँ भन्नुहुन्छ ‘अव हाम्रा पुराना दुःखका दिन सकिए,पानी र सिचाइको सुविधा भएको छ । ’
यो कुलोको निर्माण पश्चात किसानहरुले बर्खामा मात्र नभई हिउँदमा पनि सिचाँईका लागि पानी पाएको भन्दै यो कृषकहरुको निम्ति निकै फाइदाजनक रहेको बताउनुहुन्छ वडा नं ३ का वडा सदस्य गजेन्द्र धिमाल।
स्थानीयको मागलाई पूरा गर्दै यो योजनाको लागि १० लाख रुपैँया बजेट विनियोजन गरेको बताउनुहुन्छ वडा नं ३ का अध्यक्ष नवीन बराल । यसले स्थानीयको आवश्यकता र समस्यालाई संवोधन गर्न सकेको उहाँको भनाई छ ।
वर्षभरी सिचाईका लागि पानी पाउँदा उत्पादन बढेसगैँ किसानहरुको आर्थिक अवस्था सुधार भएको छ । मावा खोलाको पानीलाई यसरी सही रुपमा उपयोग गर्दा बाढीको समस्या घटेको र कृषि उत्पादन दोब्बर भएको स्थानीयको भनाई छ ।










