दमक, २२ असार । दोस्रो सिजनको नेपाल प्रिमियर लिगको लागि आठै टोलीले खेलाडी रिटेन गरी सकेका छन्। पाँच टोलीले ६–६ खेलाडी रिटेन गर्दा तीन टोलीले ७–७ खेलाडी टोलीमा राखेका छन्। आठ टोलीमा कुल ५१ खेलाडी रिटेन भएका छन्।
अघिल्लो सिजन खेलेका कम्तिमा ४५ खेलाडी भने रिलिज भएका छन्। टोलीबाट बाहिरिएका यी खेलाडीका लागि मिनि अक्सनबाट दोस्रो सिजनको नेपाल प्रिमियर खेल्ने बाटो भने खुला नै छ।
नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो सिजनको लागि मिनि अक्सन अगस्टमा गर्ने जनाएको छ। यस्तै दोस्रो सिजनको लिग आगामी नोभेम्बरमा गर्ने क्यानको तयारी छ।
अगस्टमा मिनि अक्सन गरेपछि यो सिजनका लागि टोलीले विदेशी खेलाडी कस्ता ल्याउने भन्ने बाटो खुला हुनेछ। टोलीहरुले कम्तिमा ४ र बढीमा ६ विदेशी खेलाडी टोलीमा राख्न पाउनेछन्। प्लेइङ–११ मा ४ विदेशी खेलाडी मात्र खेल्न पाउनेछन्।
एक टोलीमा कम्तिमा पनि १२ नेपाली खेलाडी हुनेछन्। जसमा रिटेन भएका बाहेक खेलाडी मिनिअक्सनबाट भित्र्याइनेछ। यो अवस्थमा अब तीन टोलीले कम्तिमा ५–५ नेपाली खेलाडी र पाँच टोलीले कम्तिमा ६–६ नेपाली खेलाडी टोलीमा आबद्ध गर्नेछन्।









