दमक ,२३ असार । मोरङमा भएको यातायातका साधन दुर्घटनामा दुईजनाको ज्यान गएको छ ।
आज बिहान विराटनगर –३ आयल निगमस्थित कोशी लोकमार्गमा ढाटबाट कन्चनबारीतर्फ आउँदै गरेको को.३७ प. २६४ मोटरसाइकल आफै अनियन्त्रित भई सडकको डिभाइडरमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सप्तरी मधुवन १ बस्ने २४ वर्षीय अरविन यादव घाइते बन्नु भएको थियो । यादवलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको बताएको थियो ।
त्यस्तै गएराति पथरीशनिश्चरे – २ स्वागत टोलस्थित भित्री सडकखण्डमा पैदल हिडिरहेका सोही ठाउँ बस्ने ६७ वर्षीय दिलमान साम्बाको पहिचान खुल्न नसकेको यातायातको साधनको ठक्करबाट ज्यान गएको छ । घाइते भएका साम्बालाई उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएकोमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
मृतकको शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे पठाइएको छ । ठक्कर दिने सवारी साधनको खोजी तथा पहिचान गर्ने कार्य भइरहेको प्रहरीले बतााएको छ ।










