दमक, २३ असार । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ।
संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यही असार १७ गतेदेखि कालोपट्टि बाँधेर सेवा दिन आह्वान गरेकामा सोमबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो।
आन्दोलनका कारण बिरामीको बिचल्ली भएको छ। अस्पतालमा पनि आन्दोलनको असर परेको छ। ओपिडी बन्द हुँदा टाढा–टाढाबाट आएका बिरामी बढी समस्यामा परेका छन्।
कतिपय बिरामी आज रिपोर्ट देखाएर आजै फर्किने गरी आएका थिए। उनीहरूलाई खान–बस्नकै समस्या भएको छ। आन्दोलन कहिलेसम्म चल्ने टुंगो नहुँदा उनीहरू अन्यौलमा छन्।










