दमक, २३ असार । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्वमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु नै साझा दायित्व भएको बताँउनु भएको छ । मानवअधिकार तथा शान्ति समाजले सोमबार आयोजना गरेको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८१ समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले सुशासनको प्रत्याभूतिसहित शान्ति, न्याय र स्वतन्त्रताको अनुभूति आम नागरिकमा गराउन जरूरी रहेको बताउनु भयो ।
राष्ट्रपति पौडेलले हामीले रोजेको लोकतान्त्रिक शासन प्रणालीलाई जीवन पद्धतिका रूपमा अवलम्बन गरी लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँदै यसको जरा अझ गहिरो बनाउनु आजको आवश्यकता भएको बताउनु भयो ।
उहाँले सामाजिक न्यायको लागि मानव अधिकार तथा शान्ति समाजको अभियान र योगदान महत्त्वपूर्ण रहेको भन्दै नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ र शान्ति प्रक्रियामा समाजले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नु भएको छ ।










