दमक,२३ असार | झापाको दमक नगरपालिकाले योग, आयुर्वेद र प्राकृतिक जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित नगर क्षेत्रलाई ‘योग युक्त नगरी’ घोषणा गरेको छ।
स्थानीय सरकारको अग्रसरता र पारमार्थ योग आध्यात्मिक सेवा संस्थान (पयोस)को सहकार्यमा भएको उक्त घोषणा कार्यक्रम सोमबार विशेष समारोहबीच सम्पन्न भयो।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराई प्रसाईले संयुक्त रूपमा उक्त घोषणा गर्नुभएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले “नागरिकको समग्र स्वास्थ्य, मानसिक सन्तुलन र अध्यात्मिक चेतनालाई मजबुत बनाउने लक्ष्यसहित दमकलाई योग केन्द्रित शहर बनाउने रणनीति अघि बढाइएको” बताउनु भयो ।
घोषणा कार्यक्रममा पयोस प्रदेश महामन्त्री लक्ष्मीप्रसाद काप्ले, झापा अध्यक्ष देविप्रसाद घिमिरे, महिला समिति अध्यक्ष प्रेमकला निरौला, उपाध्यक्ष शुशिल निरौला, महिला उपाध्यक्ष निर्मला राम दाम, महिला सल्लाहकार समिति सदस्य गोमा चिमरिया ओडारी, मिडिया अध्यक्ष सोमनाथ आचार्य, जिल्ला प्रशिक्षण विभाग प्रमुख तथा दमक नगर समिति अध्यक्ष इर्गा प्रसाद भण्डारी, नगर उपाध्यक्ष किरण उप्रेती, र महासचिव धनपति ओडारीको उल्लेखनीय उपस्थिति रहेको थियो।
नगरपालिकाले उक्त घोषणालाई आगामी साउन १९ गते पर्ने परमश्रदय आचार्य श्री महाराज ज्यूको जन्मोत्सव तथा जडिबुटी दिवस लाई केन्द्रित गर्दै अघि सारेको हो। सो अवसरमा नगर क्षेत्रका विभिन्न स्थानहरूमा योग अभ्यास, जडिबुटी महत्त्व, तथा प्राकृतिक चिकित्सा प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।
पयोस झापाका मिडिया प्रमुख सोमनाथ आचार्यका अनुसार, “दमक अब केवल आर्थिक वा भौतिक विकासको उदाहरणमात्र होइन, स्वस्थ जीवनशैली र योग साधनाको अभ्यास गर्ने आदर्श शहरका रूपमा अघि बढ्दैछ।”
नगर प्रमुख थापाले योग अभ्यासलाई विद्यालयदेखि वृद्धाश्रमसम्म विस्तार गर्ने, सार्वजनिक पार्क र स्वास्थ्य चौकीहरूमा योगसम्बन्धी पूर्वाधार विकास गर्ने, र नागरिकलाई निःशुल्क प्रशिक्षण दिने योजनासमेत अघि सार्नुभएको छ ।










