दमक,२५ असार। झापाको अर्जुनधारामा सामूहिक कुटाइबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ४ भाङवारी घर भई हाल वडा नं ८ शनिश्चरे क्याम्पस नजिक प्रकाश गिरीको घरमा डेरा गरी बस्ने २२ वर्षीया गंगा रार्ई रहेकी छन् ।
उनलाई गएराति भोजपुर रामप्रसादराई गाउँपालिका वडा नम्वर ६ वैकुण्ठे घर भई अर्जुनधारा वडा न.८ बस्ने विश्व चौधरीको घरमा डेरा गरी बस्ने वर्ष ३१ वर्षीय रमेश भुसालकी श्रीमती ३२ वर्षीया सुस्मिता भुसालले अन्य महिलालाई साथमा लिई सामूहिक कुटपिट गरेकी थिइन् ।
उनको साथमा सोही ठाउँ बस्ने ४ जना महिला गएको बताइएको छ। घाइतेलाई शंकर अस्पताल शनिश्चरे लगि सामान्य उपचारपश्चात् थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा आज बिहानको राति मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव सोही अस्पतालमा नै रहेको छ ।
प्रहरीले कुटपिटमा संलग्न ५ जना महिला र सुस्मिता भुसालका श्रीमान रमेश भुसाल समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याएको छ । आफ्ना श्रीमान् रमेश भुसाल गंगा रार्ईको कोठामा गएको भन्दै सुस्मिता भुसालले साथी भेला गरेर कुटपिट गरेको प्रहरीले जनाइएको छ ।










