दमक, २५ असार । भारतको गुजरातमा एउटा पुल बुधबार बिहान अचानक भाँचिएको छ । उक्त दुर्घटनामा केही सवारी साधन नदीमा खसेका छन् ।
वडोदरा र आणन्दलाई आपसमा जोड्ने पुलको बिचको एउटा हिस्सा भाँचिएको हो । गम्भीरा नाम गरिएको सो पुल भाँचिएलगत्तै कांग्रेस आईका नेता तथा विधानसभामा विपक्षी नेता अमित चावडाले सामाजिक सञ्जालमार्फत उद्धारका लागि सरकारलाई अपिल गर्नु भएको थियो । उहाँले यातायातका लागि वैकल्पिक व्यवस्था गर्न पनि सुझाव दिनु भएको छ ।
महिसागर नदीमाथि बनेको यो पुल ४५ वर्ष पुरानो रहेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार दुई मालवाहक ट्रक, एउटा बोलेरो जीप सहित केही सवारी साधन नदीमा खसेका छन् ।
उद्धारकर्मीले दुई वटा शव फेला पारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उद्धार कार्य जारी रहेको र बेपत्ता यात्रीको खोजी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाइएको छ ।









