दमक, २९ असार / इलाम र झापाका कार्यक्रममा सहभागी हुन आउनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा बढी व्यस्त हुनुहुने छ ।
अहिले उहाँ दमक ९ स्थित आफ्नै निवासमा हुनुहुन्छ । जहाँ कार्यकर्ता तथा सुभचिन्तकहरुको भिडभाड रहेको छ । उहाँसग भेट गर्न, योजनाका बारेमा कुरा गर्न, बिभिन्न ठाउँका जनप्रतिनिधिहरुको समेत उल्लेख्य उपस्थिति रहेको छ । आहिलेसम्म आफ्नो क्षेत्रमा भएको कामका बारेमा प्रधानमन्त्रीलाई सुनाउन र नयाँ योजनाको फाइल समेत दिन निवासमा उपस्थिति बाक्लो रहेको छ ।
यहाँबाट साढे दशबजे निस्केर दमक नगरपालिकाले आयोजना गरेको कार्यक्रममा उहाँ सहभागी हुनुहुने छ । नगरपालिकाले दमक ताराबारी डिपु चोक सडक निर्माण सम्पन्न गरेको र यसको उद्धघाटनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा गरेको हो । प्रधानमन्त्री ओलीकै पहलमा यो सडक दमककै नमुना बनेको छ । साइकल लेन, फुटपाथसहित आकर्षक र दुवै तर्फ सोलार जडित सडकबत्ती समेत जडान गरिएको छ ।
यसपछि उहाँ दमकबाट दक्षिणतर्फ गौरीगञ्जस्थित हुलाकी राजमार्गमा बनेको रतुवा नदीको पुल उद्धघाटन गर्न जानु हुनेछ । यो पुल बनेपछि अब गौरीगञ्जबाट पश्चिमतर्फ विराटनगर तथा अन्य क्षेत्रमा जान दमक आइरहनुपर्ने बाध्यता हटेको छ । अब कनकाई नदीमा निर्माणाधीन पुल बनिसकेपछि यो राजमार्गको झापाखण्ड पूर्ण रुपमा सञ्चालनमा आउने छ ।
रतुवाको पुल उद्धघाटन सकेपछि उहाँ बिर्तामोडको सिटी सेन्टरमा नेकपा एमाले झापाले आयोजना गरेको कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी बन्नु हुने छ ।
सो कार्यक्रमलाई निर्देशनात्मक सम्बोधन गरेर आजै चन्द्रगढी विमानस्थलबाट प्रधानमन्त्री ओली काठमाडांै फर्कने कार्यतालिका रहेको उहाँको सचिवालय तथा निर्वाचन क्षेत्र समन्वय प्रमुख तुलसी कार्कीले जानकारी दिनुभयो ।










