दमक, ५ साउन । घुस मागेको अडियो काण्डको विवादमा मुछिएका पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ।
आयोगको एक उच्च अधिकारीका अनुसार गुप्तालाई मंगलबारसम्म आयोगमा हाजिर हुन भनिएको हो । यद्यपि, अख्तियारले यसबारे औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन।
आयोगका एक कर्मचारीका अनुसार गुप्तालाई प्रारम्भिक सोधपुछ, अर्थात् ‘इन्क्वायरी’का लागि बोलाइएको हो। पछिल्लो समय सार्वजनिक भएको अडियो रेकर्डिङमा संलग्नताको आशंकामा गुप्तासँग बयान लिने तयारी आयोगले गरेको छ।
सार्वजनिक अडियोमा उहाँले मन्त्रालयका संवेदनशील निर्णयहरूमा प्रभाव पार्ने आशय झल्किने कुराकानी रहेको आरोप लागेको छ। सोही आधारमा नागरिक समाज र विभिन्न सरोकारवाला समूहले छानबिनको माग गर्दै आएका छन् ।
यसअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको अडियोले गुप्ताले सरकारी निर्णयमा प्रभावको सन्देह हुने गरी दलाली शैलीमा संवाद गरेको आरोप लागेको थियो। सो प्रकरणपछि उहाँमाथि राजनीतिक र सार्वजनिक दवाब बढेको थियो । जसको केही दिनमै उहाँले पदबाट राजीनामा दिनु भएको थियो ।
हाल आयोगले प्रारम्भिक अनुसन्धानका आधारमा गुप्तालाई छलफलका लागि बोलाएको भए पनि घटनाबारे थप प्रमाण र बयानका आधारमा निर्णय लिने बताइएको छ। गुप्ताको बयानपछि आयोगले उहाँलाई प्रतिवादी बनाउने कि नबनाउने भन्ने निर्णय गर्नेछ।
अख्तियार स्रोतले दायरा फराकिलो पारेर अडियोमा संलग्न अन्य सम्भावित व्यक्तिहरूलाई समेत अनुसन्धानको दायरामा ल्याइने बताएको छ । अडियोको वैज्ञानिक परीक्षण (भ्वाइस म्याचिङ) तथा टेक्निकल विश्लेषण गर्ने तयारीमा आयोग रहेको स्रोतले जनाएको छ ।










